फिल्म । अभिनेत्री तथा मोडल कविता नेपाली निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन् । उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले अनुबन्धको औपचारिक घोषणा गरेको हो। यसअघि नै फिल्मका लागि अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन्। कविता नेपालीको प्रवेशसँगै फिल्मको मुख्य कलाकार टोली पूरा भएको निर्माण पक्षले जनाएको छ। फिल्मको छायाङ्कन भदौदेखि सुरु हुने तयारी छ।
निर्देशक तामाङका अनुसार ‘एक्का तीन’ एक्सन जनराको फिल्म हो। उनले कविता नेपालीको एक्सन अभिनय दर्शकमाझ रुचाइएको भन्दै सोही कारण उनलाई फिल्ममा अनुबन्ध गरिएको बताए।
उनका अनुसार फिल्ममा पूजा शर्मा र कविता नेपालीबीच दमदार अभिनय प्रतिस्पर्धा देख्न पाइनेछ। तीन मुख्य पात्रको कथामा आधारित फिल्म जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो भने यसको कथा तथा पटकथा सुमन गजमेरले तयार पारेका छन्। कविता नेपाली यसअघि ‘एक्लो’ फिल्ममा एक्सन भूमिकामा देखिएकी थिइन्, जहाँ उनको अभिनयले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।









