बहसलाई निरन्तरता – चप संघ

4 Shares

फिल्म । गत सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र पत्रकार संघले पछिल्लो समय फिल्मनगरीमा देखिएको बेथितिमा बहस गरेको छ । चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईलाई स्वागत गर्दै आयोजना गरिएको बहसमा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सहित निर्माता अर्जुन कुमार , माधव वाग्ले , निर्देशक दिपेन्द्र के खनाल , प्रदीप भट्टाराई , दिवाकर भट्टराई लगायतको उपस्थिति रहेको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक समीर बलामीले वर्षको समिक्षागत अवधारणा प्रस्तुत गरेका थिए । गत वर्ष छक्का पञ्जा ३ , जय भोले र नाई नभन्नु ल ५ बाहेक अन्य केहि फिल्मले विदेशी प्रदर्शनको आधारमा लगानी उठाए तर धेरै संख्यामा निर्माताले लगानी सुरक्षित गर्न सकेनन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै विकास बोर्डका अध्यक्ष केशव भट्टराईले फिल्मी क्षेत्रमा समस्या नै समस्या रहेको बताए । निर्माण, वितरण र प्रदर्शन मा धेरै समस्या भएको उनले स्विकारे ।

त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण संभव नरहेको उनको तर्क छ । उनले आफ्नो पहिलो काम फिल्म नीतिलाई सरकारबाट पारित गराउने रहेको बताए । ‘नीति बन्यो भने त्यसकै आधारमा निर्णय हुन्छ त्यसैले म त्यसमा केन्द्रित छु’ अध्यक्ष भट्टराईले भने । यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधान तिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताएका छन् । उनले निर्माताको धेरै समस्याहरुको वारेमा चलचित्र संघसँग सम्झौता भएपनि त्यो कार्यान्वयन नभएको बताएका हुन् । यता चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले फिल्मी क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाए । उनले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको दावी गरे । आफ्नो फिल्म आउँदा सबै जायज र अरुको चलचित्र आउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए ।

यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरु जिम्मेवार रहेको बताए । आफ्नो वास्तविक व्यापार लुकाएर मिडियामा प्रचारबाजी व्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्य हुनुपर्ने उनले बताए । कलाकारहरुले पनि आफ्नो पारश्रमिक बढि दावी गर्नु गलत रहेको उनको भनाई छ । उनले पारश्रमिक बढि माग्ने कलाकारले व्यापारको केही प्रतिशत जिम्मेवारी लिनुपर्ने दावी गरे । यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले यस किसिमका बहसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । वितरकहरु मनोज राठी, शुशिल पोखरेल, गोविन्द शाही, प्रचण्डमान श्रेष्ठ, निरक पौडेल, अशोक शर्मा लगायतलाई कार्यक्रममा आमन्त्रण गरिएको भएता पनि बहसमा अनुपस्थित रहेको संयोजक समीरले बताए ।

Facebook Comments