सङ्गीत । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले ‘पागलपन’ र ‘माया’ बोल रहेको एक/ एक गीत सार्वजनिक गरियो । दुवै गीतको भिडियोमा मेहनत गरिएको बताउदै फिल्म हलमै यसको सार्वजनिक समारोह आयोजना गरिएको थियो । ठूलो पर्दामार्फत गीत देखाईने कार्यक्रममा सङ्गीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने अधिकाँस अनुहारको उपस्थिति थियो ।
गीतकार हुँदै मोडलिङसमेत सुरु गरेका पदम लोहारसँगै गीतमा आवद्ध सत्य-स्वरूपलाई शुभकामना दिन आएको सङ्गीतकर्मीको भिडले अवार्ड समारोहको झल्को दिईरहेको उद्घोषक नरेश भट्टराईले बताईरहेका थिए । उनले उपस्थिति अतिथिलाई नामले मात्र सम्बोधन गरे । किनकि त्यो संख्या पदसहित भन्ने समय थिएन । दुवै गीत र भिडियो हेरिसकेपछि उपस्थितले तारिफ गरे । गीतको भिडियोसँगै खिचिएको मेकिङ भिडियोले कठिनाई बारे अवगत समेत गरायो ।
गीतसँग सम्बन्धित नरहेको व्यक्तिहरू शुभकामना दिन उपस्थित हुँदा दुई गीतमा देखिएका अभिनेत्रीद्वय पूजा शर्मा र शिल्पा मास्के भने अनुपस्थित थिए । भिडियोको आकर्षणसँगै प्रवर्द्धन गर्ने अनुहार उपस्थित नहुँदा गीतकार तथा मोडल पदमसँगै सत्य र स्वरूप पनि खिन्न थिए । यसको प्रभाव युट्युबमा देखिएको छ । किनकि सार्वजनिक पहिलो गीत ‘पागलपन’ दर्शकको आकर्षणमा परेको छैन ।
आयोजित पत्रकारसम्मेलनमा गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिए । उनीसँगै ‘पागलपन’ मा गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् । उक्त गीतको भिडियोमा रचनाकार पदम लोहारसँगै अभिनेत्री शिल्पा मास्केले अभिनय गरेकी छिन् ।
अर्को गीत ‘माया’ मा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएकी छिन् । उक्त गीतमा अभिनेत्री पूजा शर्मासँगै गीतकार लोहार देखिएका छन् । दुवै गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । उक्त समारोहमा पूजा र शिल्पा अनुपस्थित देखिए पनि सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, जेम्स प्रधान, सचिन रौनियार, प्रमोद खरेल, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह, असिम शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।










