‘आ बाट आमा २’को शुभमुहूर्त

फिल्म । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा पूजाअर्चना गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो ।

निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्म गत वर्षको सफल फिल्म ‘आ बाट आमा’को सिक्वेल हो। अघिल्लो भागका कलाकारहरू विपना थापा, पल शाह, प्रदीप रावत र गजित बिष्ट यसमा पनि दोहोरिएका छन् । यसपटक आकाश श्रेष्ठ र नरेन खड्का समेत नयाँ रूपमा जोडिएका छन् । अभिनेत्रीहरूको चयन भने अझै बाँकी रहेको निर्माण टिमले जनाएको छ ।

निर्देशक पन्तका अनुसार केही दिनभित्रै सम्पूर्ण कलाकारको टुंगो लाग्नेछ भने छायांकन तालिका पनि चाँडै सार्वजनिक गरिनेछ । हाल फिल्मका लागि कलाकार तथा प्राविधिक पक्षको छनोट कार्य भइरहेको छ ।

आगामी दसैंलाई लक्षित गर्दै निर्माण अगाडि बढाइएको उक्त फिल्म सोही समयमा प्रदर्शनमा ल्याइने निर्देशक पन्तले बताएका छन् । फिल्मको कथा तथा पटकथा पनि पन्तकै रहनेछ । आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाइली रहेका छन् ।

कमेन्ट गर्नुहोस्