‘सिटामोल’ फिल्मको ट्रेलर हेरेपछि भावनात्मक भए दर्शक

फिल्म । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ को ट्रेलर हालै सार्वजनिक भएको छ, जसले दर्शकमाझ गहिरो प्रभाव छोडेको छ ।सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक र बालकलाकार करण नेपालीलगायतका कलाकारको दमदार अभिनय झल्किने ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

ट्रेलरको सुरुवातमा गाउँको परिवेश, पुराना मूल्य-मान्यता र आधुनिक यथार्थबीचको टकराव देखिन्छ फिल्म । सौगात मल्लको पात्र संवेदनशील तर विद्रोही स्वभावको देखिन्छ, जो परिवार र समाजबीच सन्तुलन खोजिरहेको छ । बेनिशा हमालले आत्मविश्वासी महिलाको भूमिकामा गहिरो छाप छोड्छिन् ।

फिल्मको ट्रेलरले स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण र सामाजिक विभाजनजस्ता मुद्दालाई गम्भीर तर भावनात्मक शैलीमा उठाएको छ । ‘सिटामोल’ केवल औषधिको नाम नभई समाजमा व्याप्त पीडाको प्रतीकजस्तै देखिन्छ । प्राविधिक पक्षमा छायांकन उत्कृष्ट छ, जसमा सिनेम्याटोग्राफीको कलात्मकता झल्किन्छ । संवाद गहिरा छन्, पृष्ठभूमि संगीतले कथालाई थप जीवन्त बनाउँछ र गतिशील सम्पादनले ट्रेलरलाई लयबद्ध बनाएको छ ।

राज बहादुर सानेले निर्देशन गरेको यो फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीले अभिनय गरेका छन् । श्रीकृष्ण र जानुकाले यो फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेका छन्।तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा बनेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माता छन् । बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउ न्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्