४० दिनमा सम्पन्न भयो ‘लालीबजार’को छायांकन

फिल्म । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ को छायांकन ४० दिनमा सम्पन्न भएको छ । बर्दियाको राजापुरबाट शुभ साइतसहित सुरु गरिएको छायांकन निर्धारित समयमै पूरा गरिएको निर्माणपक्षले जनाएको छ ।

फिल्मको छायांकन बर्दियाका विभिन्न स्थानमा गरिएको हो । फिल्ममा लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिँदैछिन् । फिल्मको लेखन तथा निर्देशन यम थापाले गरेका हुन् । यसअघि सार्वजनिक गरिएको पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको भूमिकामा देखिएपछि फिल्मको कथावस्तुप्रति दर्शकमाझ चासो बढेको थियो । यद्यपि, निर्माणपक्षले फिल्मको विषयवस्तु र अन्य कलाकारबारे भने हालसम्म केही खुलाएको छैन ।

फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्र सिंह बानियाँ निर्माता रहेका छन् । निर्माणपक्षका अनुसार फिल्मको पोस्ट–प्रोडक्सन कार्य छिट्टै सुरु गरिनेछ । फिल्म ‘लालीबजार’ आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । सीमित जानकारी सार्वजनिक गरिए पनि पोस्टर र स्वस्तिमाको फरक अवतारले फिल्मप्रति दर्शकको उत्सुकता बढ्दै गएको निर्माणपक्षको विश्वास छ ।

कमेन्ट गर्नुहोस्