फिल्म । गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘परान’ले उत्कृष्ट दर्शक प्रतिक्रिया बटुल्न सफल भएको छ । भावनात्मक पारिवारिक कथामा आधारित यो फिल्म हेरेर दर्शकहरू भावुक बनेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने हेर्नेहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
‘सक्किगोनी’मा ‘काकु’ पात्रमार्फत चिनिएका दीपकप्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले कथावस्तु, सोमाथिको अभिनय र प्रस्तुतिका लागि दर्शकबाट तारिफ पाइरहेको छ । डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको भन्दै दर्शकहरूले प्रतिक्रिया जनाइरहेका छन् । यस्तै, केन्द्रीय भूमिकामा रहेका नीर शाहको अभिनयलाई पनि उत्तिकै मनपराइएको छ । अन्य कलाकारहरूले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन् । फिल्म हेर्ने अधिकांश दर्शकहरू भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेका छन् । परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले दर्शकको मन छोइरहेका कारण ‘परान’लाई देशभर उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेको छ ।
रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा सेलिब्रेटी, राष्ट्रिय व्यवसायीहरू, पत्रकार तथा सम्पादकहरूले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको रूपमा प्रशंसा गरेका थिए । व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण भएको यो फिल्मले डेब्यू निर्माणमै उत्कृष्ट ल्याएको भन्दै नेपाली रजतपटमा व्यापक चर्चा भइरहेको छ ।
दर्शकले मुख्य रूपमा फिल्मको कथा र प्रस्तुतिलाई मनपराएका छन् । कथानकको लयले दर्शकलाई विस्तारै भावनात्मक रूपमा बाँध्दै लगेर कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ भने कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म पुर्याउँछ । जन्मिएको तथा हुर्किएको ठाउँभन्दा टाढा पुगेकालाई यसले अझ बढी भावनात्मक बनाउने काम गरेको छ ।
फिल्मले पस्किएको पारिवारिक कथामा दर्शकले धेरैजसो क्षणमा आफूलाई अनुभव गर्छन्, जसले गर्दा यो फिल्म मन नपराई बस्न सकिँदैन । यसले परिवारको अर्थ, महत्व, बाबु–छोराको सम्बन्ध, पुँजीवादले खलबलिएका नेपाली परिवार, दुई पुस्ताबीचका सोच र सपनाले उत्पन्न द्वन्द्वका कुराहरूलाई प्रस्तुत गर्छ, जसमा दर्शक निस्सासिएर सहमत हुन्छन् ।
यसरी दर्शकले सहज रूपमा आफूलाई नै पर्दामा हेरिरहेझैं अनुभव गरेकोले फिल्मलाई शतप्रतिशत नम्बर दिँदै हेर्नुपर्ने र छुटाउन नहुने फिल्मको रूपमा लिइरहेका छन् । मोटामोटी रूपमा फिल्मले दर्शकलाई ठग्दैन । यस्ता विभिन्न कारणले गर्दा दर्शकले ‘परान’लाई मनपराएका हुन् । फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी र बुद्धि तामाङ आदिको प्रमुख भूमिका छ ।










