‘कोसेढुङ्गा’ मा सरोजको परीक्षा

फिल्म । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा तयार हुने नयाँ फिल्म ‘कोसेढुङ्गा’ घोषणा गरिएको छ । पहिलो फिल्म ‘वेलकम टू हेम्जाकोट’ असफल र दोस्रो फिल्ममार्फत इतिहास रच्न सफल भएका निर्देशक पौडेलको परीक्षा सुरू भएको छ । निर्देशक पौडेलको निर्देशकीय क्षमता, कन्सेप्ट चोरीको विषयमा लागिरहेको आरोपलाई चिर्न पनि ‘कोसेढुङ्गा’ मा मौलिकता र व्यावसायिक सफलता आवश्यक छ ।

यसकारण उनको निर्देशकीय यात्राको स्पीड तय गर्न यो फिल्मको सफलता अनिवार्य छ । फिल्म घोषणासँगै सार्वजनिक गरिएको थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ ।

यो पोस्टरले फिल्म सोसल ड्रामामा बन्ने सङ्केत गरेको छ । आउँदो वर्ष प्रदर्शन गरिने फिल्म नरदेवी फिल्मसको प्रस्तुति तयार हुनेछ भने यसमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, बाबु श्रेष्ठको डीओपी, रिदम कँडेल र आषिश अविरलको सङ्गीत रहनेछ ।

कमेन्ट गर्नुहोस्