फिल्म । आजदेखि दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आएका छन् । साउन महिनामा जम्मा तीन नेपाली फिल्म प्रदर्शन हुने क्रममा यो साता दुई फिल्म एकसाथ प्रदर्शन भएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि यी दुवै फिल्मको प्रस्तुतीकरण फरक रहेकाले दर्शकले दुवै फिल्म हेर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
फिल्म ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको लेखक तथा निर्देशक ओम प्रतीकले बताए । उनले परम्परागत सामाजिक हिंसाका घटनालाई निरुत्साहित गर्ने सन्देश प्रवाह गर्न फिल्मले महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।
फिल्ममार्फत धेरै तथ्य बुझाउन सहज हुने भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको निर्देशक प्रतीकको भनाइ छ । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिस पवि लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ ले दर्शकलाई निराश नबनाउने अभिनेत्री हमालले बताइन । फिल्ममा भूपेन्द्र अधिकारीले सम्पादन, दीपेन बस्न्यातले छायांकन र कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।
यस्तै, आजदेखि नै द्वन्द्वकालमा घाइते भएको एक परिवारको कथामा आधारित फिल्म ‘सिटामोल’ पनि प्रदर्शनमा आएको छ । उक्त फिल्मका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढंगले परिभाषित गर्ने दाबी गरे । उनले यो फिल्म सिन्धुलीमा छायांकन गरिएको जानकारी दिए ।
अभिनेता सौगात मल्लले फिल्मको विषयवस्तु र युद्ध लडेका लडाकुको जीवनसँगको संघर्षले आफूलाई जोडिन प्रेरित गरेको बताए । फिल्ममा सौगात मल्लसँगै बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । उक्त फिल्मको कथा निर्देशक साने र प्रदीप भारद्वाजले संयुक्त रूपमा लेखेका हुन् ।












