फिल्म । पछिल्लो समय फिल्म ‘दाल भात तरकारी’ को रिलिज डेट हेरफेर भएसँगै विभिन्न फिल्मको रिलिज डेट प्रभावित भएको छ । नेपाली फिल्मले पनि डेट हेरफेर गरिरहेका छन् । तर हामी चर्चा गर्दैछौ बलिउड फिल्मको बारेमा । नेपाली डेट अनुसार चैत्र ८ देखि जेठ २४ सम्मको रिलिज हुने फिल्मको बारेमा जानकारी दिदैछौ ।
चैत्र ८ अर्थात मार्च २२ यस मितिमा घोषणा गरिएका बलिउड फिल्म भने एक दिन अगाडी नै अर्थात् चैत्र ७ मै रिलिज हुनेछन । चैत्र ७ मा होलि भएकोले इन्डियामा रिलिज डेट भएपछी नेपालमा पनि त्यहि अनुरुप रिलिज हुनेछ ।
केसरी : अक्षय कुमार र परिनिती चोपडा अभिनित फिल्म केसरी होलिलाई लक्षित गर्दै मार्छ २२ मा रिलिज हुदैछ । एक बहादुर सरदारको कथामा आधारित फिल्ममा अक्षयले उक्त भूमिका निर्वाह गरेका छन् । अनुराग सिंहको निर्देशनमा तयार भएको फिल्ममा करण जोहर पनि निर्माताको रुपमा छन् । अक्षय र करणको संयुक्त लगानीमा निर्मित फिल्म भएकाले पनि यो प्रतिक्षित छ ।
मर्दको दर्द नही होता : वासन वालाको निर्देशनमा तयार भएको फिल्ममा अभिमन्यु दसानी , राधिका मदान , महेश मान्जेकर , जिमित त्रिवेदी लगायतको अभिनय रहेको छ । यो एक्सन कमेडी फिल्म सार्वजनिक ट्रेलरका कारण चर्चामा छ ।
२९ मार्च अर्थात चैत्र १५ गते
नोटबुक : सलमान खानको प्रोडक्सनमा तयार नयाँ फिल्म ‘नोटबुक’ मार्फत पनि दुई नयाँ अनुहार बलिउडमा डेब्यु गर्दैछन् । यसफिल्ममा उनले आफ्नो बाल्यकालको साथी इकवालको छोरा जहिर इकवाललाई एक्टरमा डेब्यु गर्दैछन् भने अर्का साथी मोहनिश बहलकी छोरी प्रणुतन बहललाई डेब्यु गराउदैछन् । यसलाई नितिन ककड़ले निर्देशन गरेका छन् । सलमानले यसलाई युनिक लभस्टोरी भनेका छन् ।
जंगली : कमान्डो सिरिज मार्फत दर्शकको रोजाईमा पर्दै आएका विद्युत जाम्वालको अभिनय रहेको फिल्म जंगली रिलिज हुदैछ । यसमा विद्युतको जंगली जनावरसँगको सामिप्यतालाई देखाइएको छ । यसमा विद्युतसँगै पुजा सावन्त , विकी केडीएन , आशा भाट र अतुल कुल्करनीको अभिनय रहेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा विद्युतलाई जंगली जनावरसँग देखाइएको छ । उनको एक्सन र जंगली अवतारले दर्शकलाई हलसम्म तान्नेमा निर्माण टिम विश्वस्त छ ।
अप्रिल ५ अर्थात चैत्र २२
रोमियो अकबर वाल्टर : फिल्म ‘रोमियो अकबर वाल्टर’ लाई अप्रिल ५ मा रिलिज गरिने भएको छ । यसअगाडी फिल्मलाई अप्रिल १२ मा रिलिज गर्ने तयारीमा जोन थिए तर त्यसको एकसातामै करण जोहरको ब्यानरमा निर्मित फिल्म ‘कलंक’ रिलिज हुनेभएपछी निर्माण जोनले आफ्नो फिल्मको रिलिज डेट सारेका छन् । जोनको यस निर्णयसँग खुसि हुदै करणले धन्यवाद दिएका छन् । राबी गरेवालको निर्देशनमा तयार भईरहेको फिल्ममा जोनको को-स्टार छिन् मौनी रोय । गत वर्ष जोनकै फिल्म ‘सत्यमेव जयते’ सँग मौनीको डेब्यु फिल्म ‘गोल्ड’ रिलिज भएको थियो । टेलिफिल्म नागिन मार्फत चर्चामा आएकी मौनी पछिल्लो समय फिल्ममा ब्यस्त छिन । फिल्ममा शिकन्दर खेर , ज्याकी श्राफ र सुचित्रा कृष्णामुर्ती लगायतको पनि अभिनय रहेको छ । यसमा जोन ‘र’ एजेन्टको भूमिकामा छन् ।
अप्रिल १२ अर्थात चैत्र २९
सेटर्स : यस डेटमा धेरै आश गरिएका फिल्म त छैनन् तर पछिल्लो समय बलिउडमा कन्टेनले दर्शकको मन जितिरहेको अवस्थामा यिनको हाइप भने सार्वजनिक हुने सामाग्रीले निर्धारण गर्नेछ । फिल्मलाई अश्विनी चौधरीले निर्देशन गरेका हुन् भने यसमा अफताब शिवादसिनी , श्रेयस तल्पडे , सोनाली सेयगल , इशिता दत्त , पवन मलहोत्रा , विजय राज लगायतको अभिनय रहेको छ । फिल्मलाई थ्रिलर श्रेणीमा राखिएको छ ।
पीएम नरेन्द्र मोदी : ओमंग कुमारको निर्देशनमा तयार भइरहेको यस फिल्मलाई भारतका प्रधानमत्री नरेन्द्र मोदीको बायोपिक पनि भनिएको छ । फिल्ममा उनको भूमिका विवेक ओबरायले निर्वाह गरेका छन् । तर फिल्मको अहिले सम्म केहि सामाग्री सार्वजनिक नभएकोले यस मितिमा फिल्म रिलिज हुनेमा अझै द्विविधा छ ।
अप्रिल १७ अर्थात बैशाख ४ (२०७६)
कलंक : करण जोहरको निर्माण रहेको फिल्म ‘कलंक’ रिलिज डेट अप्रिल १९ समेत घोषणा गरिएको छ । तर रिलिज डेट घोषणा गरिएको केहि दिनमै निर्माण टिमले हेरफेर गरेको छ । बलिउडका चतुर निर्माता र निर्देशकको ट्याग पाएका करणले फिल्मको डेट २ दिन अगाडी नै ल्याएका छन् । अर्थात् फिल्म अब अप्रिल १७ मा रिलिज हुनेछ । अप्रिल १७ मा महावीर जयन्ति रहेकोले उनले डेटमा हेरफेर गरेका हुन् । संजय दत्त , माधुरी दीक्षित , वरुण धवन , आलिया भट्ट , सोनाक्षी सिन्हा, सिद्धार्थ रोय कपूर लगायतका कलाकार अभिनित फिल्मलाइ एक्सन जनरमा राखिएको छ । अभिषेक वर्मनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाइ पिरियड ड्रामा भनिएको छ ।
मे ३ अर्थात वैशाख २०
अर्जुन पाटियाला : कलंकपछी बलिउडमा रिलिज हुने फिल्म यहि नै हो । किनकी अप्रिल २६ मा एवेन्जर्सको इण्ड गेम रिलिज हुने भएकोले बलिउडको कुनै रिलिज राखिएको छैन । रोहित जगराजको निर्देशनमा तयार हुने फिल्ममा दिलजित दोसाँझ , कृति सानोन , वरुण शर्मा र रोनित रोय लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रम-कम जनरमा राखिएको छ ।
ब्ल्यांक : सनी देओलको अभिनय रहने फिल्मको रिलिज डेट पनि तय गरिएको छ । तर यसले आफ्नो प्रचारप्रसार अन्तर्गत कुनै सामग्री सार्वजनिक नगरेको कारणले गर्दा रिलिज हुनेमा बि-टाउन विश्वस्त छैन । यसमा सनीसँगै करण कपाडियाको पनि अभिनय रहेको छ भने यसलाई एक्सन र थ्रिलर श्रेणीमा राखिएको छ ।
मे १० अर्थात वैशाख २७
स्टुडेन्ट अफ द इयर २ : अघिल्लो सिरिजको सफलतापछी सिक्वेलमा करण जोहर निर्माताको रुपमा मात्र छन् । उनले यसको निर्देशनको अभिभारा पुनित मलहोत्रालाई सुम्पेका छन । स्टुडेन्ट अफ द इयर मार्फत बलिउडमा वरुण धवन , सिद्धार्थ मलहोत्रा र आलिया भट्ट जस्ता प्रतिभा भित्रिएका थिए । यसैले गर्दा पनि सिक्वेललाई लिएर आश बढी नै छ । फिल्ममा टाइगर श्राफ , अनन्या पाण्डे र तारा सुतारियाको अभिनय रहेको छ ।
मे १७ अर्थात जेठ ३
दे दे प्यार दे : अजय देवगन अभिनित रमकम फिल्म ‘दे दे प्यार दे’ सार्वजानिक तस्वीरकै कारण चर्चामा छ । फिल्ममा अजयलाई रोमान्टिक अवतारमा देख्न पाइनेछ । फिल्ममा अजयसँगै तब्बु , रकुल प्रीत सिंह र जिमी सेर्गिलको अभिनय रहेको छ । फिल्मलाई आकिभ अलिले निर्देशन गरेका हुन् ।
मे २४ अर्थात् जेठ १०
इन्डियाज मोस्ट वान्टेड : अर्जुन कपूर अभिनित यो फिल्मको केहि दृश्य नेपालको पोखरा लगायतको हिमाली भेगमा पनि छायांकन गरिएको छ । यसै कारण पनि नेपालीलाई यो फिल्मको नाम सम्झन खासै गाह्रो छैन । फिल्ममा अर्जुनसँगै अमृता पुरीको अभिनय रहेको छ भने यसलाई राजकुमार गुप्ताले निर्देशन गरेका छन् ।
जुन ५ अर्थात जेठ २२
भारत : इन्डियाज मोस्ट वान्टेड रिलिज भएको १० दिनपछि बलिउडका भाइजान सलमान खान अभिनित फिल्म ‘भारत’ रिलिज हुदैछ । इदको अवसरमा रिलिज हुने फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका छन् । यसमा सलमान विभिन्न गेटअपमा छन् । ‘भारत’ कोरियन फिल्म ‘ओड टू माई फादर’ मा आधारित रहेको बताइएको छ । ‘भारत’ मा वरुण धवनले केमियो रोल गरेका छन् । सलमान र निर्देशक जफरको भने यो तेस्रो सहकार्य हो । कट्रिना कैफ, सुनील ग्रोवर, दिशा पाटनीको पनि फिल्ममा लिड रोल छ ।











