फिल्म । पछिल्लो समय अभिनेता सुशील श्रेष्ठ सफलताको पर्खाइमा छन् । डेब्यु फिल्ममा सफलता पाएपनि उनले त्यसपछि भने त्यसलाई दोहोर्याउन पाएका छैनन् । यिनै सुशील पछिल्लो समय फिल्म ‘लभ डायरीज’ को प्रमोसनमा व्यस्त छन् । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफ्नो लभ स्टोरीको कुरा पनि गरे । ‘यसको कथाको केहि हिस्सा मसंगै धेरैको मायामा मेल खान्छ’ उनले भने । आफ्नो जीवनमा घटेका घटना भन्दा बढी अझै धेरै कथा फिल्ममा रहेको उनले बताए । उनले आफ्नो जीवनमा पनि ‘प्रेम र विछोड’ रहेको सुनाए । उनका अनुसार प्रेम बस्ने र छुट्ने प्रक्रिया लगभग सबैको उस्तै हुन्छ ।
सार्वजनिक ट्रेलरमा फिल्मको कथासार प्रस्ट्याइएको छ । प्रेममा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर कलरफुल र डायलगमय छ । डेब्यु गर्ल रुविना थापा र सुशील श्रेष्ठमा केन्द्रीत ट्रेलरले मायाको आभाष गराउछ । फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।











