सम्पन्न भयो ‘२० औँ इमेज अवार्ड’ (फोटोफिचर)

जयहोस् । इमेज अवार्डको २० औ संस्करण काठमाण्डौमा सम्पन्न भएको छ । २० गते शनिवार सम्पन्न अवार्डमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई प्रदान गरियो । संगीतकार गुरुङको सम्मानमा दर्शकदीर्घाबाट पनि सबैले उभिएर सम्मान प्रकट गरेका थिए । यसैगरी ऊर्जाको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपालाई लोडसेडिङबाट मुक्त गराउन अहम भूमिका खेलेका नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ प्रदान गरिएको छ । उनकै कारण देशमा लोडसेडिङ लगभग शुन्यको अवस्थामा पुगेको छ । अवार्डमा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरुमध्येबाट १८ विधामा श्रस्टाहरुलाई पुरस्कार प्रदान गरियो । अवार्डमा उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘यो ऐना भनाउँदो…’ बाट आनन्द अधिकारीलाई प्रदान गरियो भने सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘हावा घरैमा…’ बाट पूजन लोहागन र अनुपमा प्रधानलाई प्रदान गरियो । यसैगरी ,सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘छामी हेरन’ गीतका गायक सुवासचन्द्र जोशी र सर्वोत्कृष्ट संगीततर्फ ‘जाउँला रेलैमा…’ गीतका संगीतकार कमल खत्रीले अवार्ड प्राप्त गर्न सफल भए । सर्वोत्कृष्ट गीतको अवार्ड कमल खत्रीको ‘जाउँला रेलैमा…’, ‘नौलाई सून्य नब्बे’ गीतका रुपकुमार राई र मेनुका राई सर्वोत्कृष्ट गायन दोहोरी गीततर्फको अवार्ड र सर्वोत्कृष्ट गायन लोकगीततर्फ ‘दुई रुपैयाँको बिँडी’ गीतकी गायिका सीता थापाले जित्न सफल भइन । यसैगरी , सर्वोत्कृष्ट लोकगीत संकलकको अवार्ड ‘बोल माया’ बाट प्रकाश सपुत , सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘छिनछिन बज्ने चुरा’ ,सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘तिमीलाई छुँदै’ गीतका बुद्ध थापा र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकमा सोही गीतका विकास धमलाले अवार्ड पाउन सफल भए । सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘डोन्ट किलमी’का निशान घिमिरे घोषित भए भने सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा दीपक बज्राचार्यको ‘मन मगन’ले अवार्ड प्राप्त गर्न सफल भयो । सर्वोत्कृष्ट गायन पुरुषतर्फको अवार्ड ‘जाउ तिमी…’ गीतका कर्मा ग्याल्जेन बोमजन र सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड ‘वन फूल’ गीतकी गायिका दुर्गा परियारलाई प्रदान गरियो ।त्यसैगरी, सर्वोत्कृष्ट पप गायन महिलातर्फको अवार्ड ‘मनचरी’ गीतकी गायिका श्रेया सोताङ र सर्वोत्कृष्ट पप गायन पुरुषतर्फको अवार्ड दीपक बज्राचार्यको पोल्टामा पर्‍यो । साथै , पब्लिक च्वाइस अवार्ड गायिका टीका प्रसाइँको गीत ‘माया लुकी लुकी’ले प्राप्त गर्न सफल भयो । समारोहलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण आफूहरु सफल भएको बताए । कुटुम्बको सुमधुर धुनमय प्रस्तुतिसँगै सुरु भएको अवार्ड कार्यक्रमलाई जितु नेपाल र नरेश भट्टराई , विवेक सिंह ठकुरी , जिपी तिमिल्सेना , अनुषा पौडेल लगायतले सँचालन गरेका थिए भने प्रियंका कार्की र कार्टुन क्रिउको डान्ससँगै निमा रुम्बा , १९७४ एडीले आफ्नो हिट गीत प्रस्तुत गरेका थिए । तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्