ओजसमा ‘असुर’

थियटर । ओजस थियटरमा नाटक ‘असुर’को मञ्चन सुरु भएको छ । बुधबारबाट नाटकको घुम्टो खोलियो । विवेक न्यौपाने (घने)ले निर्देशन गरेको नाटकले शक्ति प्राप्त गर्न एक व्यक्तिले गर्ने हरेक प्रकारका प्रयाशका कथा भन्छ । ‘असुर एउटा गाउँको परिवारको कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, उ बर्बाद हुन्छ’ निर्देशक न्यौपानेले भने ।

नाटकको कथासार हिन्दु धर्ममा बुझाइएको ‘असुर’ को प्रसँगसँग मिल्दो रहेको निर्देशक न्यौपानेले बताए । ‘हामीले नाटकमा एउटा शक्तिको भोको असुरले गर्ने अनेक तिकडमलाई विम्वको रुपमा अहिलेको पात्रसँग जोडेका छौँ । राजनीतिक परिवर्तन भएता पनि अवस्था र व्यस्था परिवर्तन नहुनुमा समाजका केहि असुरहरुको लालच कारक हो । यी यस्तै अवस्थालाई नाटकमा देखाउने कोसिश गरेका छौँ’ उनले भने । रविन दोङको लेखन रहेको नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने तथ्यलाई समेत समेटेको छ ।

वि.सं. २०५८ देखि ०६२/०६३ सम्मको देशको परिवेशलाई नाटकमा देखाइएको लेखक दोङले बताए । ‘उत्पिडन र दमन विरुद्धको सिद्धान्तमा हिड्ने व्यक्तिहरुलाई अवसरवादीहरुले ओझेलमा पारेको सन्दर्भलाई देखाउन खोजिएको छ । नाटकले उत्पिडित वर्गको पिडाहरुलाई देखाउन खोजेको छ । क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो’ लेखक दोङले भने ।

राजन कार्की र शंकर कार्कीले निर्माण गरेको नाटकमा सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रल्हाद खरेलले ‘जुद्ध प्रसाद’को चरित्र बाँचेका छन् । नाटकमा केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, बिरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको पनि अभिनय छ ।

भदौ १५ देखि मञ्चन सुरु भएको नाटक असोज ८ सम्म चल्नेछ । काठमाडौँ महानगर वडा नम्वर ९ स्थित रातोपुलमा संचालित ओजस थियटरमा बिहिबार बाहेक हरेक दिन साँझ ५ :३० बजे नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे मन्चन हुनेछ ।

चेतना सापकोटा कार्कीको सह-निर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् । भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन् । नाटकमा विवेक न्यौपानेले ध्वनि सम्पादन, उदिप सिवाकोटीले प्रकाश परिकल्पना, रविन दोङले मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री/शेखर दाहालले मन्च व्यवस्थापन काम गरेका छन् ।

कमेन्ट गर्नुहोस्