फिल्म । गत कत्तिक ३० गतेदेखि नेपालमा प्रदर्शन भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’ को विदेश प्रदर्शन यहि मङ्सिर १३ गतेदेखि सुरू हुनेभएको छ । भोली बिहीबारबाट फिल्म अस्ट्रेलियाभर रिलिज हुने भएको हो । अस्ट्रेलियामा यसलाई प्रत्येक सहरमा बक्सअफिसमै टिकेट काटेर हेर्न सकिने निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले बताएकी छिन् ।
‘नेपालमा राम्रो प्रतिक्रिया पाएसँगै हामीले ओभरसिज रिलिज प्रारम्भ गरेका छौँ । नेपाल झैँ प्रवासमा रहेका नेपालीले पनि माया गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु, स परिवार ढुक्कले फिल्म हेर्न जाँदा हुन्छ’, नीताले भनिन् ।
नेपालमा दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गरिरहेको फिल्मको लागी अभिनेत्री ढुंगानासहितको टिम दर्शकसँग साक्षात्कार गर्न मोफसल दौडाहमा छ ।नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको फिल्मले दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण आगामी दिनमा व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दर्शकले फिल्मलाई रुचाएको बताइन ।
चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।










