फिल्म । निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म निर्माण गर्ने तयारी थालेकी छन् । यसअघि ‘लभ लभ लभ’, ‘आमा’ र ‘परस्त्री’ जस्ता फिल्म निर्माण गरेकी पाण्डेले आफ्नो आगामी प्रोजेक्टका लागि अभिनेता प्रदीप खड्का र गौरव बिष्टसँग छलफल अगाडि बढाएकी छन् । निर्मात्री पाण्डेका अनुसार, यो नयाँ फिल्मको निर्देशन उनको छोरा सुरज पाण्डेले गर्नेछन् । सुरजले यसअघि ‘परस्त्री’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए ।
निर्मात्री पाण्डेले आज नायक प्रदीप खड्कासँग भेटघाट गरेकी छन् । भेटपछि उनले जानकारी दिँदै भनिन्, ‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभएको छ । उहाँ केही समयपछि अमेरिका गएर सुरजसँग भेट्नुहुनेछ र फिल्मको स्क्रिप्ट पनि सुन्नुहुनेछ । हाम्रो योजना फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्ने रहेको छ।’
उनका अनुसार, यो फिल्ममा दुई जना मुख्य नायक रहनेछन् । गौरव बिष्टसँग शर्मिलाले यसअघि ‘परस्त्री’ मा सहकार्य गरिसकेकी छन् । रोचक कुरा के छ भने, गौरव र प्रदीपले यसअघि ‘पिताम्बर’ मा पनि सँगै काम गरेका थिए ।











