फिल्म । नेपाली फिल्मलाई प्रवर्धन गर्ने उदेश्यका साथ् सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्ड बारे मंगलवार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच जानकारी गराइयो । सन् २०२० र २०२१ मा कोरोना भाइरसले सिर्जित महामारीका कारण स्थगित अवार्ड दुइ वर्षपछि हुन् लागेको हो । ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को आयोजनामा हुन लागेको अवार्डमा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान, अमेरिकामा रहेका फिल्मकर्मीलाई प्रोत्साहन तथा सम्मान, भुटानी कलाकर्मीलाई सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो ।
अवार्ड कार्यक्रममा भुटानी फिल्महरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन् । चाँडै अवार्डका लागि छनोट समिति गठन हुने बताइएको छ । ‘ग्लोबल फिल्म अवार्ड’ लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।