फिल्म । निर्देशक राजु श्रेष्ठको निर्देशनमा नयाँ नेपाली फिल्म ‘नौ डाँडा काटेर’ निर्माण हुने भएको छ । हाल ‘कंगाल करोडपति’को छायांकनको अन्तिम चरणमा रहेका श्रेष्ठले कोजाग्रत पूर्णिमाको अवसर पारेर आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन् । निर्देशक श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ फिल्मको नाम सार्वजनिक गरेका हुन् ।
सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने ‘नौ डाँडा काटेर’का निर्माता अनिल कुमार बुढाथोकी हुन्। फिल्मको कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी सुरज कुमारले सम्हाल्नेछन्। फिल्मको कथा तथा पटकथा रंग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पार्नेछन् ।
निर्देशक श्रेष्ठले फिल्मका अन्य कलाकार तथा प्राविधिक टोलीबारे भने आफ्नो हाल निर्माणाधीन फिल्म ‘कंगाल करोडपति’को छायांकन प्याकअप भएपछि जानकारी दिने बताएका छन्। ‘नौ डाँडा काटेर’को कलाकार छनोट, छायांकन तालिका र प्रदर्शन मितिबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।









