किन हुँदैछ ‘धडक २’ को चर्चा ?

फिल्म । मोहित सुरीको निर्देशनमा तयार भएको फिल्म ‘सैयारा’ले बक्स अफिसमा धमाकेदार कमाइ गर्दै नयाँ कीर्तिमान रचिरहँदा स्टारको फिल्मलाई चुनौती थपिएको छ । अहान पाण्डे र अनिता पड्डाको डेब्यू फिल्म ‘सैयारा’ले बक्स अफिसमा बनाएको कीर्तिमानले नयाँ कलाकार, सुमधुर सङ्गीत र मन छुने कथामा दर्शक आकर्षित हुने देखिएको छ ।

यसको दुई हप्तापछि आगामी अगस्ट १ मा प्रदर्शन हुने फिल्म ‘धडक २’ ले पनि चर्चा बटुल्न थालेको छ । सिद्धान्त चतुर्वेदी र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको फिल्म रीमेक हो । प्रेम कथानक चलिरहेको सन्दर्भमा यो फिल्मले पनि ‘सैयारा’ का दर्शकलाई हलसम्म तान्न सक्ने अनुमान गरिएको छ । शाजिया इकबालले निर्देशन गरेको यो फिल्म ‘धडक २’ हिट फिल्मको सिरिज भएकाले पनि यसलाई विशेष रुपमा हेरिएको छ ।

दलित समुदायको युवा र ब्राह्मण समुदायको युवतीको प्रेमको उतारचढावलाई देखाईएको फिल्मको क्लाइमेक्स दर्शकलाई सोच्न बाध्य बनाउने अभिनेता चतुर्वेदीले दावी गरेका छन् ।

‘यो सामान्य क्लाइमेक्स होइन । दर्शक अन्त्यमा केही समय शान्त रहनेछन्, किनभने यो दुई व्यक्तिको मात्र नभई सम्पूर्ण समाजको कथा हो’, उनले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् । उनले फिल्ममा दलित समुदायको जेहेन्दार युवाको भूमिका निर्वाह गरेका छन् । यो फिल्म नेपालमा समेत प्रदर्शन हुँदैछ । आरआर फिल्म्सले नेपाल भित्राएको फिल्मलाई प्रदर्शक (हल) ले प्राथमिकताका साथ शो उपलब्ध गराएका छन् ।

‘सैयारा’ मार्फत प्रेम कथानक फिल्मको माहोल बनिरहेको सदर्भमा ‘धडक २’ ले पनि युवा दर्शकको साथ पाउने विश्वास प्रदर्शकको छ । फिल्मको नेपालमा शो खुलेसँगै अग्रीम टिकट बुकीङ र बिक्री खुल्ला गरिएको छ ।

कमेन्ट गर्नुहोस्