निशानामा निश्चल

फिल्म । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को प्रदर्शन अन्तिम समयमा रोकिएपछि फिल्मकर्मीले असन्तुष्टी व्यक्त गरे । नेपाल चलचित्र निर्माता सङ्घ, नेपाल चलचित्र सङ्घ (वितरक तथा प्रदर्शक) र नेपाल चलचित्र निर्देशक समाजसहितका संस्थाले माइतीघर मण्डलामा संयुक्त विरोध कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक मनोज पण्डित, गणेशदेव पाण्डे, सुयोग गुरुङ, रौनकविक्रम कँडेल, माइकल चन्दलगायत निर्देशक निश्चल बस्नेतको उपस्थिति रहेको थियो।

फिल्मकर्मी माथि हुने विभेद र अन्यायका विरुद्ध बोल्ने निश्चलले उक्त विरोध कार्यक्रममा पुगेर आफ्नो असन्तुष्टी व्यक्त गरे । चलचित्र विकास बोर्डमा स्क्रीप्ट र केन्द्रीय चलचित्र जाँच समितिमा जाँच भएर पास भएको फिल्म रोक्न नहुने निश्चलको स्पष्ट भनाइ थियो । नेपाली फिल्म निर्मातालाई प्रदर्शकबाट ५० प्रतिशत सेयर प्राप्त गराउन अहम भूमिका निर्वाह गरेका निश्चलले नयाँ बन्ने ऐनमा यस्ता विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

निर्धारित मितिमा फिल्म प्रदर्शन नहुँदा अन्तर्राष्ट्रिय वितरकसँगको सम्झौता टुट्ने अवस्था, प्रदर्शकको समस्या, निर्मातासँगै कलाकारलाई पर्ने मानसिक तनावको बारेमा निश्चलले आफ्नो प्रतिक्रिया दिए । उनी फिल्मकर्मीलाई पर्दा अगाडि आउने निर्देशक र कलाकार हुन् । प्रदर्शनको अन्तिम समयमा सम्मानित अदालतले वैशाख २२ गतेसम्म फिल्मको प्रदर्शनमा अस्थायी रोक लगाएपछि फिल्मसँग सम्बन्धित विभिन्न संस्था झैँ निश्चलले स्पष्ट रुपमा आफ्नो असन्तुष्टी प्रकट गरे ।

उनले सरकारी निकायबाट प्रदर्शन अनुमति प्राप्त फिल्मलाई अन्तिम समयमा कुनै एक व्यक्तिको आरोपका आधारमा रोक्नु सिर्जनात्मक स्वतन्त्रतामाथि प्रहार भएको बताए । यद्यपि, नियोजित रुपमा केही व्यक्तिले उनको फिल्म बहिष्कारको अभियान चलाए ।

जबकी निश्चल उक्त फिल्म ‘लालीबजार’ सँग निर्माण, निर्देशन वा अभिनयका हिसाबले प्रत्यक्ष रूपमा संलग्न छैनन् । उनले फिल्मकर्मीको दायित्वका रूपमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । तर, उनलाई निशाना बनाउन नियोजित रुपमा उनलाई बहिष्कारको अभियान चलाउँदै सामाजिक सञ्जालमा केही व्यक्ति सक्रिय देखिएका छन् । फिल्मकर्मीका लागि सधै अगाडि आउने निश्चललाई समस्या पर्दा फिल्मकर्मी भने चुपचाप नै देखिएका छन् । फिल्मकर्मीको यस्तो शैलीले के आउँदा दिनमा निश्चल बस्नेतहरू अन्यान विरुद्ध बोल्न अगाडि आउलान ?

कमेन्ट गर्नुहोस्