कस्तो छ नेपाली फिल्मको व्यापार ?

फिल्म । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत फिल्मको गएको फागुन ३० गते शनिवारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार बेलुकी सार्वजनिक गरेको हो ।

गएको माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले रु १२ करोड ९९ लाख ३ हजार ८२० कमाई गरेको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रका लागि कुल ४ लाख ९७ हजार ९६३ टिकट बिक्री भएका छन् । निर्देशक चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

गएको माघ २३ गतेदेखि प्रदर्शन भएको फिल्म ‘कुमारी’ ले रु ६६ लाख १४ हजार ७५१ कमाई गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त फिल्मका लागि कुल २० हजार ७६२ टिकट बिक्री भएका छन् । अविशेक खड्का र आकृतीराज भण्डारी लगायतको अभिनय रहेको फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन ।

गएको माघ २३ गतेदेखि प्रदर्शन भएको फिल्म ‘रमिताको पिरती’ ले रु ३० लाख ७० हजार ७५३ कमाई गरेको छ । नव निर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त फिल्मका लागि कुल ९ हजार ९०२ टिकट बिक्री भएका छन् । आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको उक्त फिल्मले दर्शक समिक्षा राम्रो प्राप्त गरेता व्यापार भने राम्रो गर्न सकेको छैन ।

नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङघर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्म ‘प्रवासी जीवन’ ले निकै न्यून व्यापार गरेको छ । गत फागुन १५ देखि नेपालभर प्रदर्शन भएको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीलले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

अभिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गर्नुभएको उक्त चलचित्रले रु १ लाख ४४ हजार २७० कमाई गरेको छ । उक्त फिल्मका लागि कुल ५ सय २९ टिकट बिक्री भएका छन् ।

कमेन्ट गर्नुहोस्