सङ्गीत । पछिल्लो समयकी व्यस्त गायिका सरिता भारतीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘राधा’ को भेषमा फोटोसुट गरेकी छिन् । यसअघि उनले शिवरात्रीमा शिवको अवतारमा पनि फोटोसुट गरेकी थिइन् । यस पटक उनी भगवान श्रीकृष्णकी प्रेमिका राधाको अवतारमा देखिएकी हुन् । श्रीकृष्ण जन्माष्टमीको शुभकामना दिनका लागि आफू यो अवतारमा प्रस्तुत भएको उनले बताएकी छिन्। चेली मेकअप स्टुडियोकी वरिष्ठ मेकअप आर्टिस्ट बिना रानामगरले सरितालाई राधाको रूप दिएकी हुन्। कीर्तिपुरको बागभैरव मन्दिर परिसरमा फोटो पत्रकार बद्री थापाले यी तस्बिरहरू खिचेका हुन्।
एक दशकदेखि गायनमा सक्रिय सरिताले गत साता मात्र आफ्नै युट्युब च्यानल ‘एसबी क्रियसन नेपाल’ बाट नयाँ तीज गीत ‘नाच्न दे’ सार्वजनिक गरेकी थिइन् । ओम सुनारको संगीत रहेको यो गीत अहिले चर्चामा छ। करिब दुई दर्जन गीतहरू बजारमा ल्याइसकेकी सरिताको यही भदौ ११ गते झरीसम्बन्धी नयाँ लोकगीत आउँदैछ ।
उनका अनुसार, वरिष्ठ गीतकार डब्बु क्षत्रीको शब्द र ओम सुनारको संगीतमा यो लोकगीत आउन लागेको हो। यो लोकगीतको पुरुष संस्करण गायक तथा कोरियोग्राफर कृष्ण रसालले गाउँदैछन्। अहिले अन्य दुई नयाँ गीत रेकर्डको तयारीमा रहेकी सरिताले यही भदौ १ गते हुने ‘तीज क्विन’ विशेष कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिने छिन्। यस तीजमा उनका आधा दर्जनभन्दा बढी सांगीतिक कार्यक्रमहरू तय भएका छन् ।












