फिल्म । तिहार लक्ष्मीपूजाको अवसरमा फिल्म ‘आ बाट आमा’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक भएको छ । सँगसँगै निर्माण टिमले फिल्मको रिलिज मिति माघ १६ घोषणा गरेको छ । पोस्टरमा अभिनेत्री विपना थापा, प्रदीप रावत र पल शाह खुशीको मुद्रामा देखिएका छन् । पोस्टरले सन्तानको खुशीमा आमाबाबुको सन्तुष्टिलाई झल्काउँछ ।
ग्रामीण परिवेशमा आधारित यो फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत गर्छ। पोस्टरमा लेखिएको संवाद, ‘बा–आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौँ’ लेखिएको छ ।निर्माण पक्षका अनुसार, फिल्मले ‘घर र आमाको माया’को भावनालाई दर्शकमाझ जीवन्त रूपमा प्रस्तुत गर्नेछ ।
चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा बनेको यो फिल्म आर्या पन्तको प्रस्तुति हो । फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा लगायतका कलाकारको अभिनय रहेको छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यो फिल्मका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना छन् भने कार्यकारी निर्माता करण सिंह रसाइली हुन्। फिल्मको छायांकन नवराज उप्रेतीले गरेका छन् भने संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् ।
हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार लिइसकेको छ । नेपालमा भने आरआर फिल्म्सले प्रदर्शनको जिम्मा लिएको छ । डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ ।










