यस्तो बन्यो ‘मन बिनाको धन’को शीर्ष गीत टिजर

फिल्म । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको भाइटिका दिनमा अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’को शीर्ष गीतको टिजर सार्वजनिक भएको छ । टिजरमा भावुक मुद्रामा रुदै गरेको अशोकलाई देखाइएको छ भने शीर्ष गीतको झलक प्रस्तुत गरिएको छ । निर्माण पक्षले आगामी १२ गते बुधबार फिल्मको ट्रेलर सार्वजनिक गर्ने जानकारी दिएको छ ।

कार्तिक २१ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो फिल्मले यतिबेला आक्रामक प्रचारप्रसार थालेको छ । बाटोमा गीत गाउँदै माग्दै हिँड्ने बाल गायक अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीतमार्फत जीवन नै परिवर्तन गरिदिएका थिए । हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत अशोकको कथा केन्द्रमा राखेर बनेको यो फिल्मले सामाजिक विषयवस्तुलाई चित्रण गरेको छ ।

निर्माण तथा निर्देशन टंक बुढाथोकीकै रहेको फिल्मलाई उनैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीको छ । फिल्ममा मिनु शर्मा (सपना)को भूमिका छ भने जी.पी. सङ्गौला, विवेक नेपाल र विजया पाण्डे सह-निर्माता छन् ।

फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर. बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डङ्गोल लगायतका कलाकारको अभिनय छ ।

टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ। एप्पल इन्टरटेनमेन्ट, रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने यो फिल्मले मनोरञ्जनसँगै सन्देशमूलक अभियानको रूप लिने निर्देशक बुढाथोकीको दाबी छ ।

कमेन्ट गर्नुहोस्