फिल्म । प्रेम कथामा आधारित नेपाली फिल्म ‘लज्जावती’ यही साउन २९ गतेदेखि हलमा प्रदर्शनमा आउने भएको छ। फिल्मको निर्देशन राजबहादुर सानेले गरेका हुन्। सामाजिक कथामा आधारित ‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिली फो’, ‘बुलाकी’ र ‘सिटामोल’ लगायतका फिल्म निर्देशन गरिसकेका सानेले यसपटक प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेका छन्।
निर्देशक सानेका अनुसार फिल्मको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीले निर्वाह गरेका चार पात्रको वरिपरि घुमेको छ। कलाकारका पात्रको नामबाटै फिल्मको शीर्षक ‘लज्जावती’ राखिएको उनले बताएका छन्।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन्। त्यस्तै, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायतका कलाकार सहायक भूमिकामा देखिनेछन्।
मुकुन भुसालबाहेक अधिकांश कलाकारका लागि ‘लज्जावती’ मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म हो। नयाँ कलाकार र नयाँ टिमका साथ प्रेम कथालाई फरक शैलीमा प्रस्तुत गरिएको निर्देशक सानेको भनाइ छ।
फिल्मका पोस्टर, टिजर तथा ट्रेलर सार्वजनिक भइसकेका छन्। ‘दिलको मोटर’ र ‘मलाई पीर परेको’ बोलका गीतले पनि दर्शकको ध्यान खिचिरहेका छन्। प्रचार सामग्रीमा देखिएको कलाकारको अभिनय र कथावस्तुले फिल्मप्रति दर्शकको चासो बढाएको निर्माण पक्षको दाबी छ।
प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम केही सातादेखि प्रचारप्रसारमा व्यस्त छ। कलाकारहरू मिडिया, विभिन्न विद्यालय तथा कमेडी शोलगायतका कार्यक्रममा पुगेर फिल्म र आफूले निर्वाह गरेका पात्रबारे जानकारी दिइरहेका छन्। प्रचारका क्रममा दर्शकबाट पाएको प्रतिक्रियाले कलाकार तथा निर्माण टिमलाई थप उत्साहित बनाएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कलाकार मुकुन भुसालले ‘लज्जावती’ नेपालीपन बोकेको प्रेम कथा भएको बताए। नेपाली समाजकै प्रेम कथामा आधारित भएकाले फिल्म धेरै नेपालीको जीवनसँग जोडिन सक्ने उनको दाबी छ। उनले आफूले पहिलोपटक प्रेम कथामा आधारित फिल्ममा अभिनय गरेको पनि बताए।
‘यो मेरो पहिलो लभस्टोरी कथा हो। यसअघि अन्य कथामै अभिनय गरिरहेको थिएँ। त्यसैले पनि फिल्मप्रति उत्साहित छु,’ उनले भने। फिल्ममा मुकुन इ–रिक्सा चालकको भूमिकामा छन्। रिक्सा चलाएर दैनिकी गुजार्ने क्रममा उनी होटल सञ्चालिकासँग नजिकिएको ट्रेलरमा देखाइएको छ। यही सम्बन्धबाट फिल्मको कथा अघि बढ्ने उनले बताए।
अर्का कलाकार श्रीकृष्ण निरौला फिल्ममा ‘पागलप्रेमी’को भूमिकामा देखिएका छन्। टिजर र ट्रेलरमा आफ्नो भूमिका हेरेपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए।
‘मेरो चरित्रलाई धेरै शुभचिन्तकले मन पराइदिनुभएको छ। त्यसैले फिल्मप्रति निकै आशावादी छु,’ उनले भने। श्रीकृष्णका अनुसार जीवनमा पहिलोपटक प्रेममा परेको व्यक्तिले प्रेममा पाउने पीडा र उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा उनको पात्रमार्फत प्रस्तुत गरिएको छ। आफूले उक्त चरित्रलाई निकै माया गरेको र यसका लागि लामो समय पर्खिएको उनले बताए।
प्रेम कथामा आधारित भएकाले ‘लज्जावती’ले दर्शकलाई साँचो प्रेमको अर्थ बुझाउने उनको विश्वास छ। ‘धेरै मानिसलाई साँचो प्रेम के हो भन्ने थाहा छैन। यो फिल्म हेरेपछि दर्शकले साँचो प्रेमको परिभाषा बुझ्नुहुनेछ,’ उनले भने। श्रीकृष्णको यो दोस्रो फिल्म हो, जसमा उनी मुख्य भूमिकामा छन्। यसअघि उनले ‘सिटामोल’मा सहायक भूमिकामा अभिनय गरेका थिए।
त्यस्तै, जानुका विश्वकर्मा र मेनुका माझी पनि पहिलोपटक मुख्य भूमिकामा काम गर्न पाउँदा उत्साहित छन्। दुवै कलाकार फिल्ममा क्रमशः मुकुन र श्रीकृष्णको प्रेमिकाको भूमिकामा देखिएका छन्। जानुका ‘भट्टी साउनी’को भूमिकामा छिन् भने उनी मुकुनको जोडीका रूपमा देखिएकी छन्। उनले आफ्नो पात्र रोमान्टिक रहेको बताइन्।
फिल्ममा लगानी गरेका निर्माता कमलप्रसाद शर्माले आफूलाई ‘लज्जावती’को कथा मन परेकाले लगानी गरेको बताए। फिल्मको प्रचार सामग्रीले पाएको सकारात्मक प्रतिक्रिया र कथावस्तुलाई हेर्दा लगानी उठाउन सक्नेमा आफू ढुक्क रहेको उनले बताए। दर्शकले फिल्मलाई साथ दिनेमा पनि आफू आशावादी रहेको उनको भनाइ छ।
निर्माता शर्माका अनुसार फिल्म करिब दुई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।
फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।










