‘वार २’ सँग भिड्दै ‘कुली’

फिल्म । भारतीय बक्स अफिसमा आगामी अगस्ट १४ मा दुई ठूला बजेटका फिल्मबीच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ । भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बलिउड र साउथ इन्डियन फिल्म उद्योगका सुपरस्टारहरूको फिल्म एकैदिन रिलिज हुने भएका छन् ।

यशराज फिल्म्सद्वारा निर्मित ‘वार २’ मा अभिनेता ऋतिक रोशन र साउथ इन्डियन सुपरस्टार जुनियर एनटीआर मुख्य भूमिकामा छन्। सन् २०१९ मा आएको सुपरहिट फिल्म ‘वार’को सिक्वेलका रूपमा तयार गरिएको यसलाई निर्देशक अयान मुखर्जीले निर्देशन गरिरहेका छन् ।

त्यसै दिन दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘कुली’ पनि प्रदर्शनमा आउने भएको छ । लोकेश कनगराजद्वारा निर्देशित यो फिल्ममा नागार्जुन र श्रुति हासनको समेत अभिनय रहेको छ । सुरुवातमा फिल्म युनिटले रिलिज मिति सार्ने तयारी गरे पनि पछिल्लो रिपोर्टहरू अनुसार अब ‘कुली’ पनि यही मितिमा रिलिज हुने निश्चित भएको छ ।

ऋतिक रोशनको स्टारडम र जुनियर एनटीआरको दक्षिण भारतमा रहेको प्रभावका कारण ‘वार २’ ले व्यापक दर्शक तान्न सक्छ भने, रजनीकान्तको अपार लोकप्रियता र लोकेश कनागराजको निर्देशनले ‘कुली’ लाई बलियो प्रतिस्पर्धी बनाएको छ । विश्लेषकहरूका अनुसार अगस्ट १४ को भिडन्तले बक्स अफिसमा ठूलो प्रभाव पार्न सक्छ । हिन्दी भाषी क्षेत्रमा ‘वार २’ बलियो देखिएको छ भने दक्षिण भारतमा ‘कुली’को प्रभुत्व रहने अनुमान गरिएको छ।

दुवै फिल्महरू तय मितिमै रिलिज हुने हो कि अझै केही परिवर्तन हुनेछ भन्ने विषयमा भने निर्माताहरूको औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्