बाबुछोराको सम्बन्धमा ‘गाउँ आएको बाटो’ (टिजर)

फिल्म । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा थिएट्रिकल टिजर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन बारे जानकारी गराए । पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबुछोराको सम्बन्धमा नवनिर्मित बाटोले ल्याएको उतारचढावको कथा पेश गर्ने फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् ।

बाल कलाकार प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । टिजरको दृश्य कम्पोज, रङ संयोजक र पार्श्वध्वनि सशक्त महसुस हुन्छ । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले भने, ‘यो कथा हाम्रो बाल्यकालको कथा पनि हो ।’ प्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, बेइजिङ फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको छ ।

फिल्मको छायांकन अमेरिकी छायांकार जोस हेरम, ताइवानका क्वान पुन लुङले सम्पादन र हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन् । यो फिल्मको लेखन निर्देशक सुब्बा र महेश राईले गरेका हुन् भने आमोद राई निर्माता हुन् । मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुतिमा फिल्मको नेपाल रिलिज हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्