‘रिमै’ मा मनोरञ्जनसँगै संस्कृति छ : दयाहाङ

फिल्म । आगामी शुक्रबार (भदौ २०) बाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’ को टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । हालै आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले यो फिल्म नेपाली फिल्म उद्योगका लागि महत्वपूर्ण दस्तावेज बन्ने बताए । उनले गुरुङ समुदायको संस्कृति र जीवनशैली अध्ययन गर्नेका लागि यो फिल्म बलियो आधार बन्ने दाबी गरे ।

‘यो फिल्म अहिले प्रदर्शनमा आउँदैछ, धेरैका लागि यो सामान्य प्रक्रिया हो । तर, भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो फिल्म महत्वपूर्ण दस्तावेज बन्नेछ। विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृतिलाई बुझ्न यो फिल्म गतिलो आधार हो’, अभिनेता राईले भने ।

‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी-चेली’ हो, तर संदर्भअनुसार ‘तरुनी’ को रूपमा पनि प्रयोग हुन्छ । फिल्मकी अभिनेत्री रिश्मा गुरुङले गुरुङ समुदायमा छोरीको विशेष महत्व रहेको बताइन् ।

‘अरू समुदायमा अन्तिम संस्कारका लागि छोरा चाहिन्छ, तर गुरुङ समुदायमा छोरी अनिवार्य हुन्छ । छोरीबिना शव उठाउनै मिल्दैन’, उनले भनिन् । रिश्माले यो फिल्मले गुरुङ समुदायमा छोरीको महत्वलाई उजागर गर्ने बताइन् । गुरुङ भाषाको फिल्मबाट अभिनय सुरु गरेकी रिश्मा मेनस्ट्रिम फिल्ममा समेत स्थापित छिन् ।

दयाहाङले विभिन्न समुदाय र भूगोलका कथाले नेपाली फिल्म उद्योगलाई समृद्ध बनाउने बताए । ‘गुरुङ भाषामा त पहिले पनि फिल्म बनेका छन्, तर नेपाली भाषामा मेनस्ट्रिम गुरुङ कथाको फिल्म बनेको थिएन। ‘रिमै’ ले यो कमी पूरा गरेको छ’, उनले भने । गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डीबी गुरुङ, टेक गुरुङ र बालकलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।

खिलबहादुर गुरुङको निर्देशन र उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन् । दीपक शर्मा र थानेश्वर गौतमको सङ्गीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, बिष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्