
फिल्म । माघेसङ्क्रान्तिको अवसर परेर विभिन्न चलचित्रको निर्माण घोषणा तथा श्रव्यदृश्य सार्वजनिक गरिएको छ । मङ्गलवारलाई शुभ मानिने भएकाले पनि चलचित्रकर्मीले यस दिनलाई रोजेका हुन् । यसै अवसरमा चलचित्र ‘ताण्डवम्’ प्रदर्शन घोषणा गरिएको छ । एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहेका जुनीम गहतराजको निर्देशनमा तयार भएको यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन ९ मा प्रदर्शन हुने जानकारी गराइएको छ ।
उनले भने,‘रङ्ग संयोजनमार्फत चलचित्र क्षेत्रमा सक्रिय भएता पनि मैले निर्देशक विधा पनि अध्यन गरेको छु । विचार मिल्दो समूह जुटेका कारणले मैले निर्देशकको रुपमा अगाडी बढ्ने योजना बनाएको हुँ । सुरुआतमा नेपालमा बनिरहेका भन्दा फरक चलचित्र दर्शकसामू ल्याउदै छु ।’

उनले आफ्नो पहिलो सन्तानको स्वागतमा रहेको नव विवाहित जोडीको जीवनमा अकल्पनिय घटनाले निम्त्याउने घटनाक्रमलाई चलचित्रको विषय बनाएको बताए । पारिवारिकसँगै ‘एक्सन थ्रिलर’ विधामा तयार भएको चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै, कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गर्दै चलचित्र ‘महाभोज’ निर्माण घोषणा गरिएको छ । निर्देशक दिनेश राउतले माघ महिना,माघेसङ्क्रान्ति र मंगलवार भएकाले आजकै दिनलाई शुभ मान्दै चलचित्रको कामको सुरुआत गरेको जानकारी दिए । निर्देशक राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताए ।

उनले भने,‘यस चलचित्रमा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथा समेटेका छौँ । नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास चलचित्रमार्फत गर्दैछौँ । देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने विषय चलचित्रमा हेर्न पाउनुहुनेछ ।’
यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने लगायतका कलाकारले अभिनय गर्नुहुनेछ ।


यस्तै, चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । गायक डेविट शङ्करको स्वर तथा दीपक शर्माको शब्द रचना तथा सङ्गीतमा तयार भएको गीत ‘ग्रीन कार्डैमा’ मा मुख्य कलाकारहरू विनय श्रेष्ठ र सुपुष्पा भट्ट देखिएका छन् । विसं २०७२ सालमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ दोस्रो भाग भनिएको चलचित्रमा नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे लगायातका कलाकारले अभिनय रहेको छ । निरोज महर्जनले निर्देशन गर्नुभएको चलचित्र आउँदो शिवरात्रीलाई लक्षित गर्दै फागुन १४ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लीको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रको सार्वजनिक पोस्टरमा पल शाह दुई भिन्न अवतारमा प्रस्तुत छन् । उनी राजर्सी पहिरन र न्युड छन् ।
माघेसंक्रान्तिको अवसर पारेर बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’ टिजर सार्वजनिक गरिएको छ । कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक जीवन सेञ्चुरीले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई चलचित्रले सघाउने बताए ।
उनले भने,‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राख्दै चलचित्र तयार गरेको छु । यसले परिवार र समाजलाई उल्लेखित मुद्दामा सचेत बनाउने काम गर्छ भन्ने विश्वास छ ।’

यस चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने लगायतका कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्र माघ २५ देखि सार्वजनिक प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
आज चलचित्र ‘डोरी’को पोस्टर सार्वजनिक गर्दै चैत १५ गते प्रदर्शन हुने घोषणा गरिएको छ । अरुण लामाले लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतले अभिनय गरेका छन् ।

माघेसङ्क्रान्तिकै अवसर पारेर पुराना निर्देशक तुलसी घिमिरेले ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, पञ्चमी घिमिरे लगायतका कलाकारले अभिनय रहने चलचित्रको छायांकन आउँदो सातादेखि सुरु हुने निर्देशक घिमिरेले जानकारी दिए ।

उनले भने,‘नेपाली समाजको एउटा गम्भीर विषयलाई चलचित्रमार्फत उठाउदै छु । हामी चलचित्रकर्मीको दायित्व मनोरञ्जनसँगै समाजलाई सुसूचित गर्नु पनि हो । चलचित्रलाई हरेक पक्षमा सबल बनाउने गरी तयारी गरिररहेको छु । यो मेरो ‘कमब्याक’ चलचित्र हो ।’
उनले चलचित्रमा रञ्जित गजमेरको सङ्गीत, प्रमोद प्रधानको छायाङ्कन रहने जानकारी दिए । आउँदो वर्ष विसं २०८२ को जेठमा प्रदर्शन गर्ने चलचित्रको विषयमा छायांकन अगावै जानकारी गराईने निर्देशक घिमिरेले बताएका छन् । नेपाली चलचित्र सम्बन्धि गतिविधी धार्मिक रुपमा शुभ मानिएको दिनमा बढ्ने गरेको छ । यसैको निरन्तरतास्वरूप माघे संक्रान्तिलाई लक्षित गर्दै विभिन्न चलचित्रको पोस्टर, प्रदर्शन मिति, गीत लगायत सार्वजनिक गरिएको हो ।