बल्छी धुर्बेको ‘गोबर गणेश’ माघ १ मा रिलिज हुने

फिल्म । टेलिभिजनमा ‘बल्छी धुर्बे’ उपनामले परिचित कलाकार मरिचमान श्रेष्ठ अब ठूलो पर्दामा आउँदैछन् । उनले आफ्नो निर्देशनमा बन्ने पहिलो फिल्म ‘गोबर गणेश’ को घोषणा गरेका छन् । बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा तयार हुने यो फिल्म आउँदो माघ १ गते रिलिज हुनेछ ।

‘मेरी बास्सै’ बाट दर्शकमाझ लोकप्रिय बनेका मरिचमान श्रेष्ठले पछि ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता सफल टेलिफिल्महरू निर्देशन गरेका थिए । अब उनी फिचर फिल्मको निर्देशनमा हात हाल्दैछन् । यद्यपि, उनले आफू यस फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्नेबारे केही खुलाएका छैनन् ।

‘गोबर गणेश’ को मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै, अन्य कलाकारहरूमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेका छन् । यसबाहेक, हास्य कलाकार केदार घिमिरेकी श्रीमती सीतादेवी तिमल्सिना र ‘हल्का रमाइलो’ सिरियलकी कलाकार पुजन घिमिरे (पुकु) को पनि अभिनय रहने जनाइएको छ । यद्यपि, निर्माण पक्षले यस विषयमा औपचारिक जानकारी भने दिएको छैन।

निर्देशक मरिचमान श्रेष्ठले भने, ‘हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल घोषणा गर्दै रिलिज मिति मात्रै तय गरेका हौँ ।’ टौवा स्टुडियोले फिल्मको पब्लिसिटी डिजाइन गर्नेछ भने ओएसआर डिजिटल यसको डिजिटल पार्टनर रहनेछ । नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्ट ले गर्नेछ ।

कमेन्ट गर्नुहोस्