अन्तिम फिल्मको बारेमा के भन्छन् विजय ?

फिल्म । भारतीय अभिनेता थलापति विजयले अभिनय यात्राबाट विश्राम लिने घोषणा गरेका छन् । ३३ वर्ष लामो फिल्मी करियरलाई पूर्णविराम लगाउँदै उनले अबको जीवन राजनीतिमा समर्पित गर्ने निर्णय लिएका हुन् । मलेसियामा आयोजित आफ्नो अन्तिम फिल्म ‘जन नायकन’ को अडियो सार्वजनिक कार्यक्रममा ५१ वर्षीय विजयले भावुक हुँदै फिल्म क्षेत्रबाट संन्यास लिने औपचारिक जानकारी दिएका हुन् ।

१० वर्षको उमेरमा बाल कलाकारका रूपमा तमिल फिल्म ‘वेट्री’ बाट अभिनय यात्रा सुरु गरेका विजयले १८ वर्षको उमेरमा ‘नालैया थीरपू’ मार्फत नायकका रूपमा डेब्यु गरेका थिए । पछिल्लो समय उनले आफ्नै राजनीतिक दल तमिलगा वेट्री कजगम गठन गरिसकेका छन् । सो दलले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

प्रशंसकहरूलाई सम्बोधन गर्दै विजयले आफूलाई माया गर्ने जनताको सेवामा बाँकी जीवन समर्पित गर्न चाहेकाले फिल्मबाट अलग हुने निर्णय लिएको बताएका छन् ।

तीन दशक लामो करियरका क्रममा विभिन्न आलोचना खेप्नुपरे पनि प्रशंसकको मायाले नै आफू यो उचाइमा पुग्न सफल भएको विजयको भनाइ छ । रोचक कुरा के छ भने, सन् २०१५ को फिल्म ‘पुली’ पछि उनका कुनै पनि फिल्म फ्लप भएका छैनन् । ‘बिस्ट’, ‘वारिसु’ र ‘द ग्रेटेस्ट अफ अल टाइम’ (गोट) जस्ता पछिल्ला फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा करोडौँको व्यापार गर्दै उनको स्टारडम प्रमाणित गरेका थिए ।

विजयको घोषणापछि उनका लाखौँ प्रशंसक भावुक भएका छन् । यद्यपि, फिल्म पर्दाबाट विदा भए पनि वास्तविक जीवनमा ‘नायक’ बनेर जनताको पक्षमा उभिने उनको प्रतिबद्धताले प्रशंसकमा आशा जगाएको छ । उनको अन्तिम फिल्म ‘जन नायकन’ प्रति अहिले दर्शकको ठूलो चासो र अपेक्षा देखिएको छ । यो फिल्म आगामी जनवरी ९ मा नेपालमा पनि प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्