कस्तो छ घरेलु बजारमा नेपाली फिल्मको व्यापार ?

फिल्म । चलचित्र विकास बोर्डले हाल फिल्म हलमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा पुस १२ गतेसम्म संकलित तथ्याङ्कअनुसार मङ्सिर र पुसमा प्रदर्शनमा आएका अधिकांश नेपाली फिल्मको व्यापार सन्तोषजनक देखिएको छैन।

‘हर्ष’ ले पुस १२ गतेसम्म २८ लाख ७८ हजार ८३६ रुपैयाँ मात्र कमाइ गरेको छ । एकता पौडेलको निर्देशनमा बनेको यस फिल्मका कुल ८ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । फिल्ममा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारको अभिनय रहेको छ। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ ले सोही अवधिसम्म २१ लाख ५० हजार ४०२ रुपैयाँ आम्दानी गरेको छ । सुशान्त गौतमको निर्देशनमा बनेको यस फिल्मका ६ हजार ८६१ वटा टिकट बिक्री भएका छन्। फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र सरिता गिरीलगायत कलाकारको अभिनय छ।

फिल्म ‘पीआर’ ले पुस १२ गतेसम्म ६ लाख ७५ हजार ३३ रुपैयाँ कमाइ गरेको छ । शोभित बस्नेतको निर्देशनमा बनेको यस फिल्मका २ हजार १४१ वटा टिकट बिक्री भएका छन्। फिल्ममा सुरज पौडेल, विनिता कार्की, नीर शाह र गौरी मल्ललगायत कलाकारको अभिनय रहेको छ। त्यसै दिन प्रदर्शनमा आएको फिल्म ‘लोकन्ती’ ले ४ लाख १२ हजार ५४० रुपैयाँ कमाइ गरेको छ भने फिल्म ‘चिराग’ ले ६८ हजार ४५० रुपैयाँ आम्दानी गरेको तथ्याङ्क ‘सिनेपा @ बक्सअफिस’ मा उल्लेख छ । उक्त विवरण पुस १२ गते राति ११:५९ बजेसम्मको हो ।

पुस ४ गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले पनि घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गर्न सकेको छैन । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको यस फिल्मले पुस १२ गतेसम्म ६२ लाख ६९ हजार ४७५ रुपैयाँ कमाइ गरेको छ। फिल्मका कुल १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् ।

यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ।

हाल प्रदर्शनरत फिल्ममध्ये कात्तिक १४ गतेदेखि प्रदर्शन सुरु भएको फिल्म ‘परान’ ले भने उत्कृष्ट व्यापार गर्दै आएको छ । दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको यस फिल्मले पुस १२ गतेसम्म १७ करोड ६७ लाख ३६ हजार ८२८ रुपैयाँ कमाइ गरेको छ। प्रदर्शनको ५१औँ दिनसम्म फिल्मका ६ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएका छन् । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी र सुव्रत आचार्यलगायत कलाकारको अभिनय छ।

कमेन्ट गर्नुहोस्