चिसो वर्षलाई एक करोडको पुरस्कार

फिल्म । निर्देशक मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड तिन लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । इस्तानबुलमा आयोजित टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याबले ‘अन्तर्राष्ट्रिय सह–निर्माण’का लागि उक्त अवार्ड दिएको हो । ‘कालो पोथी’ मार्फत आफुलाई विश्वमा परिचित गराईसकेका निर्देशक भामको आगामी फिल्म ‘चिसो वर्ष’को सह–निर्माण टर्कीले गर्नेछ ।

पटकथाको आधारमा विश्वभरका फिल्म मध्ये तीन वटालाई टीआरटी १२ पुन्टो अवार्ड प्रदान गरिन्छ । फिल्ममेकर्सको सहभागितामा बिशेष समारोहबीच प्रदान गरिने उक्त अवार्ड यसपाली भने कोरोनाको कारण अनलाइनबाट घोषणा गरिएको थियो । टर्किस प्रोड्युसरले सहभागिताको लागि आवेदन दिएका थिए ।

चिसो वर्षमा दुई पात्रको हिमाली यात्राको कथा छ । हराएका पतीको खोजीमा निस्किएकी गर्भवती महिला पेमा र दाइको खोजीमा निस्किएका वौद्ध भिक्षुबीच संयोगले भेट हुन्छ । उनीहरु एकसाथ आफन्तका खोजीमा निस्किन्छन् । त्यस क्रममा उनीहरुको जीवनमा आउने उतार–चढाव एवं परिवर्तन नै यसको मूल मर्म रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्