फिल्म । निर्देशक मिलन चाम्सले आगामी लभस्टोरी जनराको फिल्म ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । कुन्साङले यो फिल्मलाई आफ्नो डेब्युको रूपमा लिँदै मिलन चाम्ससँग काम गर्न पाउनु गर्वको कुरा भएको बताए । उनले यो फिल्ममा आफूलाई प्रमाणित गर्न पूर्ण मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो फिल्मले कुन्साङको करियरमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।गोर्खा फिल्म्स र चाम्स इन्टरटेनमेन्टको संयुक्त लगानीमा निर्माण हुने ‘सुम्निमा’ नाम सुन्दा नारीको कथामा आधारित जस्तो लागे पनि यो विशुद्ध प्रेमकथामा केन्द्रित हुने निर्देशक चाम्सले खुलासा गरेका छन् ।
फिल्मको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन्। अन्य कलाकार र प्राविधिक टोलीको छनोट प्रक्रिया जारी रहेको चाम्सले जानकारी दिए । उनले यो फिल्म युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिने बताए।
राजीव थापाको लेखनमा तयार हुने यो फिल्मको छायांकन आगामी अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ । चाम्सद्वारा निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ ले बक्सअफिसमा सफल व्यापार गरेको थियो ।











