फिल्म । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ भारतीय बक्स अफिसमा ‘ब्लकबस्टर’ साबित भएको छ । यस फिल्मले २०० करोडको आँकडा पार गरिसकेको छ, तर दुर्भाग्यवश यसलाई ६ वटा खाडी (गल्फ) मुलुकमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । फिल्म निर्माताहरूको अथक प्रयासका बाबजुद ती देशहरूमा ‘धुरन्धर’ प्रदर्शन गर्ने अनुमति पाउन सकेन ।
‘बलिउड हंगामा’ को पछिल्लो रिपोर्टअनुसार ‘धुरन्धर’ बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र यूएई लगायतका ६ खाडी मुलुकमा रिलिज हुने छैन । ती देशका अधिकारीहरूले फिल्मलाई ‘पाकिस्तान विरोधी’ बताउँदै प्रदर्शन अनुमति दिन अस्वीकार गरेका हुन् ।
खाडी मुलुकमा प्रतिबन्ध लागे पनि भारतमा भने ‘धुरन्धर’ ले बक्स अफिसमा बलियो प्रदर्शन गरिरहेको छ । फिल्मले भारतमा हालसम्म कुल २ सय १८ करोड भारतीय रुपैयाँको कलेक्सन गरिसकेको छ । फिल्म क्रिटिक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट गर्दै दिएको जानकारीअनुसार, फिल्मले बिहीबारमा २९ करोड ४० लाख रुपैयाँको कलेक्सन गरेको छ, जुन फिल्मको ओपनिङ कलेक्सन (२८.६० करोड) भन्दा पनि बढी हो ।
फिल्मको कुल कलेक्सनको गतिलाई हेर्दा, दोस्रो सप्ताहन्तसम्ममा यो फिल्म ३०० करोड क्लब मा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ । फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षय खन्ना को ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ ।










