फिल्म । नेपाली फिल्म निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । व्यावसायिक सुरक्षाका कारण प्राय निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् ।
मङ्सिरको अन्तिम साता २९ गते प्रदर्शन हुने फिल्म ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गर्दैछन् । अभिनेता लिम्बू फिल्मसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।
सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताउने अभिनेता लिम्बुले अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेको बताए । ‘डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु । अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु’, अभिनेता लिम्बूले भने,‘पहिलो दिन नै गीतको छायाङ्कन भएकाले नर्भस थिएँ ।सम्पूर्ण टिमले सहजता दिलाएपछि काम गरेँ । प्राप्त गरेको अवसरलाई पूर्ण रुपमा प्रयोग गर्ने कोसिस गरेको छु ।’
उनले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा दर्शकलाई निराश नबाउने काम गरेको बताए । उनीसँगै डेब्यु गरिरहेकी अभिनेत्री गिरीले पनि टिमको सहयोगले आफूले राम्रो काम गर्न पाएको बताइन । उनले भनिन्,‘मैले यस्तो राम्रो टिम पाएँ कि चाहेको काम गर्न सके । यो क्षेत्रमा आउँदो समयमा यस्तै साथ् पाउनेमा विश्वस्त छु ।’
उदय सुब्बाको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता लिम्बू र अभिनेत्री गिरीसँगै सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, वुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।
फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका लागि करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछन् ।










