दिपावलीमा मर्यादित र सुरक्षित उत्सव मनाउन आग्रह

देश । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावली पर्वको अवसरमा कानुनद्वारा निषेधित गतिविधि नगर्न र मर्यादित रूपमा उत्सव मनाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले मैनबत्ती र बिजुलीको प्रयोगमा सावधानी अपनाउन, आतिशबाजी, पटाका, भुइँचम्पा वा अन्य विस्फोटक र आगलागीजन्य पदार्थको खरिद-बिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न आग्रह गरेको छ ।

दिपावलीमा देउसी-भैलो लगायतका कार्यक्रमलाई मर्यादित, अनुशासित र व्यवस्थित रूपमा बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न र कुनै गुनासो नआउने गरी व्यवस्थापन गर्न अनुरोध गरिएको छ । चाडपर्वमा सम्पत्ति चोरीको जोखिम बढ्ने विगतका घटनाले पुष्टि गरेको उल्लेख गर्दै कार्यालयले घरको सुरक्षा र सतर्कताका लागि छिमेकीलाई जानकारी दिन, शंकास्पद व्यक्तिको उपस्थितिमा नजिकको प्रहरी वा सुरक्षा एकाइमा खबर गर्न अनुरोध गरेको छ ।

यस्तै, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तुको बिक्रीजस्ता उपभोक्ता हितविपरीतका कार्य नगर्न निर्देशन दिइएको छ । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, तोकिएको भाडाभन्दा बढी नलिन र ट्राफिक नियम पालना गर्न पनि ध्यानाकर्षण गरिएको छ । गैरकानुनी चिठ्ठा, जुवातास, अनलाइन सपिङको नाममा हुने अवैध कारोबार र विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न पनि कार्यालयले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्