देश । लकडाउनकै समयमा सर्लाही जिल्ला अन्तर्गतको बरहथवा नगरपालिकामा खोलिएको बजार बन्द हुने भएको छ । गत वैशाख २७ गतेदेखि दैनिक विहान ६ बजेदेखि ८ : ३० बजेसम्म बजार खोलिएको थियो । पहिलो दिन अवस्था सामान्य रहेता पनि दोस्रो दिन देखि बजारमा भिडभाड बढेको थियो । विना सावधानी खोलिएको बजारले संक्रमण फैलिन सक्ने भन्दै स्थानीयले नै विरोध गर्न थालेपछि जेठ २ गते शुक्रबार देखि बजार बन्द हुने भएको हो । वरपर थुप्रै वडाको प्रमुख बजार भएकाले यहाँ किनमेल गर्न आउनेको संख्या अत्यधिक भयो । साथै नजिकै रहेको धनकौलमा संक्रमित देखिएका थिए । जसको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ देखि लकडाउनमा छ । तर , दसैँको झल्को आउने गरि बजार किन खोलियो त ? नगरपालिका प्रमुख देवानन्द महतोले स्थानीय व्यापारीको कारण बजार खोलेको बताए । ‘बजार खुलाउनु पर्ने मांग व्यापारी मार्फत आएपछि मैले वैठक गरेर बजार खुलाएको हुँ । पहिलो दिन अवस्था ठिक थियो तर विस्तारै भिडभाड बढ्न थाल्यो । त्यसैले गर्दा हामी वैठक गरेर जेठ २ गतेदेखि बजार बन्द गर्दैछौ’ उनले भने । पहिलो दिन बजार सामान्य रहेता पनि अन्य दिनमा भिडभाड बढेको र सावधानी नपनाइएको उनले स्वीकारे ।
‘सर्लाही जिल्लाकै अन्य नगरपालिकाले बजार खोलेपछि म बाध्य भएको हुँ । तर , बजार खोल्ने मनसाय मेरो थिएन’ उनले भने । लकडाउनकै समयमा पनि लुकिछिपी समान किनबेच हुने भएकोले बरहथवा नगरपालिकाले बजार खोल्ने अनुमति दिएको थियो । यद्दपी मेयर महतोले स्थानीयले नै सतर्कतामा ध्यान दिनु पर्नेमा जोड दिए । ‘हामीले आफ्नो काम गरिरहेका छौ । केहि स्थानमा त्रुटी पनि भएका छन् यद्दपी संक्रमण फैलाउने पक्षमा छैनौ’ मेयर महतोले भने । सर्लाहीसँगै जोडिएको जिल्लाहरु रौतहट , बरा , पर्सामा कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि सर्लाही उच्च जोखिममा रहेको छ ।









