विदेश । आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा आगामी अगस्ट ३० देखि क्यानडाका विभिन्न सहरमा हुने कार्यक्रम ‘अब हाँस्छ क्यानडा’ मा सहभागी हुन् पछिल्लो समय चर्चित कमेडियनहरू सुमन कार्की, भरतमणि पौडेल र कैलाश कार्की त्यहाँ पुगेका छन् । सेप्टेम्बरको दोस्रो सातासम्म उनीहरूले क्यानडाका विभिन्न तीन सहरमा प्रस्तुती दिने तय भएको आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए ।
आगामी अगस्ट ३० मा मिसिसागामा हुने शो अगाडि आयोजित पत्रकार सम्मेलनमा आयोजक भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराए । उनले भने,‘हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौँ । यहाँका नेपालीले डिमाण्ड गर्नुभएका कै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ । यो शोमा अब क्यानडा हाँस्ने छ ।’
पहिलोपटक आफ्नो प्रस्तुती दिन क्यानडा पुगेका तीन कलाकार मध्ये सुमन कार्कीले स्ट्यान्डअप कमेडीमार्फत दर्शकलाई हँसाउने बताए । उनले भने,‘पहिलोपटक यहाँ आएका छौँ । हामीले केही तयारी गरेका छौँ र त्यसलाई क्यानडामा रहेका नेपाली माँझ प्रस्तुत गर अधैर्य छौँ । हामीले आफ्नो कर्म इमान्दार भएर गर्ने छौँ ।’
तीन कमेडियनसँगै उक्त कार्यक्रममा गायिका सत्यकला राईले आफ्नो चर्चित गीतहरू प्रस्तुत गर्नेछिन् । साथै, संस्कृति झल्किने नृत्य, स्थानीय लोकल ब्याण्डको सांगीतिक प्रस्तुती, स्थानीय कलाकारको नृत्यसँगै डिजेको प्रस्तुती रहने आयोजक भण्डारीले जानकारी दिए । नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ ।
नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै विगतमा प्रकाश सपुत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले ‘अब हाँस्छ क्यानडा’ कार्यक्रम अगस्ट ३० मा मिसिसागा, सेप्टेम्बर ५ मा क्यालगरी र सेप्टेम्बर ६ मा एडमन्टन जानकारी दिए ।
कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन् । आई र यु इन्टरटेनमेन्टमार्फत निश्चल पौडेल र आगन इभेन्ट्समार्फत जिआर भण्डारीले क्यानडामा नेपाली कला र संस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दै आएका छन् ।










