फिल्म । करिब आठ वर्षपछि अभिनेता राजेश हमाल ठूलो पर्दामा ‘कमब्याक’ गर्दैछन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको शिखरमा पुगेको छ । सार्वजनिक भएको केही घण्टामै ट्रेलर युट्युबको नेपाल ट्रेन्डिङमा पुगेको छ।
ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता हमालले फिल्ममा प्रयोग गरिएको उनको चर्चित संवाद ‘हे…’ को गहिरो अर्थबारे प्रस्ट पारे । उनले उक्त संवाद निर्देशक दिवाकर भट्टराईको सुझावमा राखिएको बताएका छन् ।
‘सिन गर्ने बेलासम्म पनि यो संवाद मेरो दिमागमा आएको थिएन’, हमालले भने,‘दिवाकरजीले सुझाव दिनुभयो, र मैले त्यो शब्दको गहिरो अर्थ महसुस गरेँ। ‘हे…’ केवल शब्द होइन, अन्याय र अत्याचार विरुद्धको एक संकेत हो।’
निर्देशक भट्टराईका अनुसार यो संवाद अब ‘स्लोगन’ सरह बनेको छ । फिल्मका लेखक तथा निर्देशक भट्टराईले चन्द्र पन्तको कथामा आधारित यस फिल्मलाई निर्देशन गरेका हुन् । फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको छायांकन रहेको छ ।
राजेश हमालसँगै फिल्ममा नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, उषा खड्गी, प्रशान्त ताम्राकार, दीपा शाही, र रमेश चन्द सोडारीलगायत दर्जनौं कलाकारको अभिनय समेटिएको छ ।
‘नरसिंहाः अवतार’ को भीएफएक्स समिर मियाले, सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् । करण सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा वसन्त अधिकारी सह-निर्देशक छन् । नेम महर्जनको लगानीमा निर्माण भएको फिल्म जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।