फिल्म । अघिल्लो वर्षसम्म ‘छक्का पञ्जा’ सिरिजमा मात्र सिमित रहेका केदार घिमिरे अर्थात् माग्ने बुढा यो वर्ष बाहिरी व्यानरको तीन फिल्ममा देखिए । भदौमा ‘माग्ने राजा’ प्रदर्शन भएपछि उनले अभिनय गरेको फिल्म ‘माइतीघर’ प्रदर्शनरत छ भने आगामी असोज ३१ गतेदेखि ‘जेरी : अन टप’ प्रदर्शन हुँदैछ । अघिल्ला दुई फिल्ममा ग्रामिण परिवेशमा देखिएका केदार आगामी फिल्ममा भने सहरिया चरित्रमा देखिदैछन् ।
उनको आवरणले भिन्नता दिईरहेको सन्दर्भमा उनले आफ्नो पात्र फरक रहेको बताएका छन् । ‘यसपटक फिल्म नै भव्य छ, म पनि केही भिन्न देखिने कोसिस गरेको छु । फिल्ममा कथामा नेपालको गौरव सगरमाथा जोडिएको छ । हामीले सगरमाथाका सुन्दरतालाई फिल्ममार्फत प्रस्तुत गर्न लागेका छौँ, यसले थोरै भएपनि जानकारी बढाउँछ’, उनले भने ।
उनले यस्ता फिल्म निर्माण गर्न निर्मातामा ठूलो आट चाहिने बताए । उनका अनुसार हिमाली भेगमा छायांकन गर्दा मौसमका कारण, सडक नहुँदा प्राविधिकले पनि धेरै मेहनत गर्नुपरेको थियो । फिल्म जति सुन्दर देखिएको छ, त्यसका पछाडि त्यति नै धेरै मेहनत लागेको उनले बताए ।
फिल्म ‘जेरीः अन टप’ केदारसँगै अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।









