‘पीआर’ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया

फिल्म । आगामी शुक्रबार (मंसिर २६)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को भव्य प्रिमियर सम्पन्न भएको छ । निर्माण पक्षले फिल्म रिलिज हुन दुई दिन बाँकी रहँदा बुधबार साँझ क्यूएफएक्स सामाखुसीस्थित सिटी स्क्वायर हलमा प्रिमियर आयोजना गरेको हो।

प्रिमियरमा पत्रकारहरूसँगै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, सफल निर्देशक दीपाश्री निरौला, कलाकार गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, निर्देशक दीपक आचार्य (काकु), अभिनेत्री रेखा थापा, अभिनेता जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, कोरियोग्राफर प्रभात पाल, गायिका देविका बन्दना लगायत सेलिब्रिटीहरूको उपस्थिति रहेको थियो।

अभिनेत्री रेखा थापाले फिल्म उत्कृष्ट बनेको र नव कलाकारको अभिनय मनपरेको प्रतिक्रिया दिइन् । उपस्थित अधिकांश दर्शक तथा सेलिब्रिटीले फिल्मको कथावस्तु, अभिनय र प्रस्तुतिको प्रशंसा गरे । विशेषगरी अभिनेता सलिनमान बनियाँले मुख्य कलाकारहरूको अभिनय अत्यन्तै उत्कृष्ट रहेको बताए ।

फिल्मका निर्देशक शोभित बस्नेतले कलाकारको प्रशंसा सुनिँदा आफू अत्यन्त उत्साहित भएको बताए । निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, जयकिशन बस्नेत, सविन श्रेष्ठ लगायतले पनि फिल्म उत्कृष्ट बनेको भन्दै आर.ए. सुरज पौडेल र विनिता कार्कीलाई विशेष बधाई तथा शुभकामना दिए। रेजिना उप्रेती केही दृश्यले आफू भावुक बनेको भन्दै विदेश पुगेका नेपाली युवाको वास्तविक संघर्षले आफूलाई छोएको प्रतिक्रिया दिइन्।

फिल्मको कथा अस्ट्रेलियामा पीआर (स्थायी आवास) पाउन नेपाली विद्यार्थीले भोग्नुपर्ने संघर्ष, आर्थिक दबाब र घरपरिवारको ऋणको दबाब वरिपरि घुम्छ। निर्देशक शोभित बस्नेतले अस्ट्रेलिया र नेपाल दुवै ठाउँमा छायांकन गरिएको फिल्मले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई उठाएको जानकारी दिए।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डाँगी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्कीलाई देख्न सकिन्छ।

फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका छन्। लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका छन्। फिल्मको सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका छन् । फिल्मको वितरण आर आर फिल्म्सले गर्दैछ।

कमेन्ट गर्नुहोस्