सुवासले ल्याए आत्महत्या निरुत्साहित गर्ने गीत ‘दिनपछि रात’

सङ्गीत । आत्महत्यालाई निरुत्साहित गर्ने संदेश मुलक गीत तयार गरिएको छ । गायक सुवास केसीले ‘दिनपछि रात’ बोलको संदेशमुलक गीत तयार गरेका छन् । गीतमा गणेश सुवेदीको शब्द रचना रहेको छ भने गीतलाई सन्दीप कार्कीले कम्पोज गरेका हुन् । आठ मिनेट लामो श्रव्यदृश्य भएको गीतमा आवेगले निम्त्याउने आत्महत्याले परिवारलाई पार्ने असरलाई चित्रण गरिएको छ ।

‘समस्यासँग भाग्ने नभई डटने स्वभाव युवामा हुनु जरुरी छ । हामीले अन्तिम समाधान आत्महत्या नभई सङ्घर्ष हो भन्ने संदेश भिडियोमार्फत दिन खोजेका हौँ’ गायक केसीले भने । उनले जीवनदेखि निराश भएकालाई सही गन्तव्य दिन सके कुविचार हराउने तर्फ सङ्केत गरे ।

‘संसार छाड्नेले यहाँ रहनेलाई कति पिडा दिन्छन् भन्ने भिडियोमा देखाउन खोजेका छौँ । विशेषत परिवारका सदस्य आमा बुवालाई पर्ने पिडाले थोरै भएपनि सजग गराउँछ भन्ने लागेको छ । आत्महत्यापछि जीवनलाई भिडियोमा देखाएका छौँ’, गायक केसीले भने ।

सार्वजनिक भिडियोमा योगेश सिं, विशाल गिरी, दिवाकर घिमिरे, किरण शाही ठकुरी, मञ्जु गिरी लगायतका कलाकार फिचर्ड छन् । रुविन शाहीको मिक्सिङ तथा मास्टरिङ, नगेन्द्र राईको बाँसुरी,मिलिन्द शाक्यको साउन्ड रहेको गीतलाई पृथक रेकर्डसमा रेकर्ड गरिएको हो । भिडियोमा महेश केसीको निर्देशन तथा सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्