‘लन्डन टु पेरिस’ लाई तारिफ

फिल्म । प्रदर्शनरत फिल्म ‘लन्डन टु पेरिस’ लाई प्रिमियरमा प्रसंशा प्राप्त भएको छ । फिल्म हेर्न पुगेका फिल्मकर्मीले सञ्चारकर्मीलाई युवापुस्ताको कथावस्तुमा समयसान्दर्भिक फिल्म बनेको प्रतिक्रिया दिए । रिलिजको पूर्व सन्ध्यामा काठमाडौँममा गरिएको प्रिमियरमा फिल्म हेरेका कलाकर्मीले यसको मेकिङको पनि तारिफ गरे ।

लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि फिल्म राम्रो बनेको बताए । ‘फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने । निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई फिल्मका मार्फत प्रस्तुत गरेको बताए । उनले विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए ।

अभिनेता कवीर खड्काले आफूले कलाकार भन्दा पनि दर्शकका रुपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपा जस्ता जुन क्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने ।

‘डेब्यू’ अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । ‘आफूले दिन सक्ने सतप्रतिशत काम दिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु’, उनले भनिन् ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ मा डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ । यसले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्ममार्फत डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । यसमा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेकाछन् । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्