फिल्म । नेपालमा सार्वजनिक प्रदर्शन अगाडि नै हङकङ र बेलायतपछि ‘अञ्जिला’को भव्य प्रिमियर दक्षिण कोरियामा सम्पन्न भएको छ । नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित फिल्मलाई मार्च २ मा सिओलमा हेर्न आइपुगेका दर्शकले आफ्नै कथा भन्दै प्रसंसा गरे ।
दक्षिण कोरियामा रहेको नेपाल महिला फुटवल परिवारकी अध्यक्ष कमला साउदले आफ्नो आसुँ रोक्न नसकेको प्रतिक्रिया दिईन् । उनले भनिन्,‘सङ्घर्ष जीवनमा सबैले गर्छन तर केटीले गर्ने सङ्घर्ष अझैँ बढी हुन्छ । यो फिल्म हेर्दा मैले आफूलाई पाएँ, ती भोगाई मसँग पनि जोडिएका थिएँ । म धेरै ठाउँमा भावुक भएँ, रोएँ । यो फिल्म कोरियाका अन्य स्थान पनि लाग्छ, सबैले हेरिदिनुह होला ।’
कोरियामा रहेका पूर्वी समाज नेपालका संयोजक अमृत राईले पनि फिल्ममा गरिएको सङ्घर्ष आफ्नो भन्दा फरक नरहेको बताए । ‘फिल्म गज्जब बनेको छ । हामीले अञ्जिलाको सफलता देखेका छौँ, तर त्यहाँसम्म पुग्न उनले गरेको मेहनत फिल्मले देखाएको छ । उनले गरेको सङ्घर्षले धेरै चेलीलाई लक्ष्य प्राप्त गर्न प्रेरणा दिन्छ । यो फिल्म पुनः हेर्ने सोचमा छु’, संयोजक राईले भने ।
कोरियाका नेपाल तामाङ घेदुङ सङ्घका सचिव नीर योञ्जन तामाङले फिल्मको कथासँग जोडिएकै कारण आसुँ बगेको पत्तो नै नलागेको बताए । उनले फिल्म अवधिभर पर्दामा देखिएको पात्रको व्यथा, सङ्घर्ष र सफलतासँग जोडिएको बताए । ‘अञ्जिलाको सुख र दु:खलाई महसुस गरें । किनकि त्यहाँ देखाईएका अवस्थाहरू सङ्घर्षशील जीवनमा धेरैले भोग्ने गरेका छन् । उनी नेपालको महिला समूहको क्याप्टेन यतिकै बनेकी होइनन् भन्ने फिल्मले प्रस्ट्यायो । खेलाडीको विषयलाई बढीभन्दा बढी फिल्ममा ल्याउन अञ्जिलालाई सफल बनाउने हाम्रो दायित्व हो’, सचिव तामाङले भने ।
नेपालमा फागुन २९ गते प्रदर्शन हुने फिल्मको डायस्पोरामा भएको प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले आफूसहित टिमलाई उत्साही बनाएको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । ‘मैले अञ्जिलाको लगनशीलता, मेहनत र निरन्तरताले दिएको सफलता देखेको छु । उनले गरेको सङ्घर्षले अन्यलाई लक्ष्य प्राप्त गर्न प्रेरणा दिन्छ भनेर नै फिल्ममार्फत दर्शकसम्म कथा लग्दैछु । यो कथाको पात्र र कथा अञ्जिलाको भएपनि हरेक खेलाडीको व्यथा हो । अधिकाँसले यस्तो सङ्घर्ष गरेर सफलता पाएका छन् । यो फिल्मको सफलताले अन्य खेलाडीको कथामा फिल्म बनाउन म लगायत अन्य निर्माता साथीलाई पनि प्रेरित गर्नेछ’, निर्माता श्रेष्ठले भने ।
उनी क्याप्टेन सुब्बाको धर्मपिताको रुपमा समेत परिचित छन् । निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको सङ्घर्षलाई उजागर गर्न यो फिल्म निर्माण गरिएको बताए । उनले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्याउन ‘अञ्जिला’ उत्तम लागेको बताए । फिल्ममा अञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ ।
फिल्ममा क्याप्टेन सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि यसमा प्रमुख भूमिका निर्वाह गरेका छन् । अञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँको दृश्य समावेश गरिएको फिल्मको छायाङ्कन सुदीप बराल, सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।











