फिल्म । नेपाली फिल्म उद्योगमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको ‘होस्टेल’ शृङ्खलाको तेस्रो भाग ‘होस्टेल ३’ को सफलतापछि निर्माण टिमले नयाँ फिल्म ‘होस्टेल अगेन’ घोषणा गरेको छ । सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक मिनिमल पोस्टरले फिल्मको थ्रिलर र सस्पेन्स कथावस्तुको सङ्केत गरेको छ ।
पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको दृश्यले प्रेम र द्वन्द्वको मिश्रणलाई सङ्केत गर्छ । ‘होस्टेल’ शृङ्खलाका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, यो फिल्म थ्रिलर विधामा केन्द्रित हुने देखिन्छ । ‘होस्टेल अगेन’ले ‘होस्टेल ३’को कथावस्तुको निरन्तरता दिन्छ वा नयाँ कथा प्रस्तुत गर्छ भन्ने स्पष्ट नभए पनि ‘होस्टेल’ ब्रान्डअन्तर्गतको नयाँ कथानक हुने अनुमान छ ।
पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन्।फिल्ममा ‘होस्टेल ३’का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स तथा कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् ।
‘होस्टेल’ शृङ्खलाले नयाँ प्रतिभालाई अवसर दिंदै बक्स अफिसमा सफलता हासिल गर्ने परम्परालाई कायम राखेको छ । ‘होस्टेल अगेन’ले पनि यो परम्परालाई निरन्तरता दिंदै नयाँ कलाकारहरूलाई चिनाउने छ । निर्देशक कँडेलका अनुसार ‘होस्टेल अगेन’को छायाङ्कन छिट्टै सुरु हुनेछ । यसअघि यो टिमले ‘बाउ भर्सेज छोरा’ घोषणा गरेको थियो, तर कलाकारहरूको व्यस्तताले उक्त फिल्म अर्को वर्षलाई सरेको छ ।












