‘कामी र बाहुन उच्चारण गर्दा हेपेको हुँदैन’ : प्रकाश सपूत

फिल्म । अभिनेता तथा सर्जक प्रकाश सपूतले कसैलाई जात विशेषले बोलाउनु हेप्नु वा होच्याउनु नरहेको बताएका छन् । आफ्नो निर्देशकीय डेब्यु फिल्म ‘वसन्त’ को पत्रकार सम्मेलनमा उनले नेपालमा सूचिकृत जातले बोलाउदा हेपेको भन्न नमिल्नेमा जोड दिएका हुन् । आफ्नै फिल्मको सार्वजनिक पहिलो गीत ‘साँझ पर्यो झमक्क’ को सुरूआतमा प्रयोग गरिएको ‘बाहुनी’ र ‘कामी’ शब्दले विवाद निम्त्याउन सक्ने जिज्ञाशामा प्रकाशले त्यसलाई विभेदका भावले नसोच्न आग्रह गरे ।

‘नेपालमा सूचिकृत जातीको नामले बोलाउँदा हेपेको वा अपहेलना गरेको हुँदैन होला, त्यो ठान्नु पनि हुँदैन । हामीले फिल्म र त्यसको पात्रको सामीप्यता वा स्वभाव अनुसार दृश्य राखेका हौँ । फिल्म हेरेपछि यसको सदर्भिकता अझैँ बुझिन्छ’, प्रकाशले भने ।

उनले फिल्ममा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न गर्ने संघर्षको कथा देखाएका छन् । गीतमार्फत सशक्त कथा भन्ने प्रकाशले धेरै दर्शकसम्म कथा पुर्याउन फिल्म निर्देशन गरेको बताए । ‘मैले भोगेको र देखेको कथालाई गीतमै सकाउछु की भन्ने डर लागेर फिल्म निर्माणमा हतार गरेको हुँ । यो कथालाई आफ्नो गाउँ, समाजमा धेरैले देख्नु भएको हुनसक्छ’, प्रकाशले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले गायक प्रकाश सपूतले पुराना निर्देशक झैँ आफूलाई तयारी गरेर फिल्म निर्देशन गरेको बताएकी छिन् । उनले भनिन्,‘म यो फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित छु । यसले मलाई एउटा छुटै जीवनसँग परिचित गराएको छ । अनि प्रकाश जी आफैँमा सम्पूर्ण विधामा पूर्ण भएको व्यक्ति । फिल्म निर्देशनमा मैले परिपक्क पाएँ ।’

उनले आफ्नो शान्तिको भूमिका सम्झिने मध्येको एक पात्र रहेको बताइन । गायक सपूतले आफ्नो समूहका कारण नै फिल्म बनाउन सम्भव भएको बताए । उनले आफ्नो भोगाई र अनुभवलाई संगालेर फिल्मको विषयवस्तु बनाएको बताए । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउने फिल्म ‘वसन्त’ को प्रचारप्रसारकै क्रममा प्रकाशले आफ्नो कथा भन्ने प्रयाश गरेको बताए । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा यसको छायांकन गरिएको हो ।

फिल्ममा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् ।

कमेन्ट गर्नुहोस्