फिल्म । सदाबहार अभिनेताको ट्याग पाएका भुवन केसी अभिनेताको रुपमा दर्शक सामु आउने भएका छन् । केहि समय यता अभिनयलाई विश्राम दिदै मेकरको रुपमा अगाडी आइरहेका भुवन फिल्म ‘मिस्टर नेपाली’ मा अभिनेताको रुपमा देखिने भएका छन् । फिल्म ‘ड्रिम्स’ बाट निर्देशनमा समेत डेब्यू गरिसकेका उनी देव भुषालको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘मिस्टर नेपाली’ मा दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् । ‘मैले फिल्ममा दोहोरो भूमिका निर्वाह गरेको छैन , त्यसैले यो मेरो लागि नयाँ हुनेछ’ भुवनले भने । यसमा उनी एक छोरा र पिताको भूमिकामा हुनेछन् । एउटा भूमिका भने नेगेटिभ छ । फिल्मको सोमवारबाटै छायांकन सुरु भएको छ ।

सोमवार विहान कमलादीमा रहेको गणेश मन्दिरमा फिल्मको शुभ साइत गर्दै फिल्मको बारेमा जानकारी गराइएको थियो । भुवन कार्यक्रममा केहि ढिला आइपुगेपछि फिल्मबाट डेब्यू गर्न लागेका साहिल श्रेष्ठ र कुशुम राउतले मुहूर्त सट दिएका थिए । फिल्ममा दुईको जोडी बाँधिनेछ भने अभिनेता भुवनले अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गर्नेछन् । कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।
प्रेमराज दाहालको लगानीमा निर्माण हुने फिल्मलाई निरज कँडेलले खिच्नेछन् भने यसमा जीवन थापाको सम्पादन रहनेछ । फिल्मका गीतमा दीपक शर्मा र सुभाष भुषालको संगीत रहनेछ । फिल्मले राष्ट्रियताको कथा उठाउने निर्देशक देवले बताए । फिल्ममा हिमाल केसीको द्वन्द्व रहनेछ । कविराज गहतराजले फिल्मका गीतमा कोरियोग्राफी गर्नेछन् ।













