फिल्म । यशराज फिल्म्सको ब्यानरमा निर्मित भारतीय फिल्म ‘सैयारा’ ले आक्रामक सुरुआत गरेको छ । भारतीय ट्रेड विश्लेषकहरूले यो फिल्मले पहिलो दिन २० करोड भारुको ग्रस कलेक्सन गर्ने अनुमान गरेका छन् । रोमान्टिक विधामा नयाँ अनुहारहरू लिएर बनेको कुनै पनि फिल्मले यति बलियो सुरुवात गरेको उदाहरण हालसम्म देखिएको छैन ।
यो फिल्मको तुलना ऋतिक रोशन र अमिषा पटेल अभिनित ‘कहो ना प्यार है’ सँग भइरहेको छ । डेब्यु कलाकारहरू अहान पाण्डे र अनीत पाड्डा अहिले इन्टरनेटमा सर्वाधिक ट्रेन्डमा छन् । उनीहरूबारे गुगलमा व्यापक खोजी भइरहेको छ । यो बलिउडको सामान्य रोमान्टिक ड्रामा भए पनि यसले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नुका साथै भावनात्मक रूपमा जोड्न सफल भएको छ ।
रोमान्स विधामा बलिउडको सबैभन्दा ठूलो ओपनरको रूपमा चर्चा कमाइरहेको यो फिल्मले निर्देशक मोहित सुरीलाई पुनः लयमा फर्काएको छ । फिल्मका रात्रीकालीन शोहरू थपिएका छन् र उच्च दर्शक उपस्थितिका कारण ‘सैयारा’ २ सय करोड क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ । फिल्मले भारतसँगै नेपालमा पनि उच्च अकुपेन्सीसहित सुरुआत गरेको छ । फिल्म हेरेका दर्शकमार्फत बलियो ‘वर्ड अफ माउथ’ प्रवाह भएकाले यसले आगामी दिनमा पनि दर्शकको चाँप हलमा बढाउने देखिएको छ ।










