फिल्म । अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनापछि भारतभर शोकको लहर फैलिएको छ । यो घटनाले बलिउड उद्योगलाई पनि स्तब्ध बनाएको छ । अभिनेता सलमान खानले मुम्बईमा आयोजित पत्रकार सम्मेलन रद्द गरेका छन् भने अक्षय कुमार र विष्णु मन्चुले इन्दौरमा हुने फिल्म ‘कन्नप्पा’को ट्रेलर लन्च कार्यक्रम स्थगित गरेका छन् ।
सलमान खान हालै ‘इन्डियन सुपरक्रस रेसिङ लिग’ को ब्रान्ड एम्बेसडर बनेका थिए । बिहीबार मुम्बईमा आयोजना हुने पत्रकार सम्मेलन रद्द गर्दै उनले भने, ‘यो दु:खद दुर्घटनाको खबरले हामी सबै मर्माहत छौं । इन्डियन सुपरक्रस रेसिङ लिग र म यो कठिन समयमा देशको साथमा छौं । हाम्रा विचार र प्रार्थना प्रभावित परिवारहरूसँग छन् । यो कार्यक्रम पछि आयोजना गर्ने निर्णय गरेका छौं ।’
अभिनेता शाहरुख खानले सामाजिक सञ्जाल एक्समा लेखे, ‘अहमदाबादको दुर्घटनाको खबरले अत्यन्तै दुखी छु । पीडितहरू, उनीहरूका परिवार र प्रभावित सबैका लागि प्रार्थना गर्दछु ।’
आमिर खानले पनि आफ्नो प्रोडक्सन हाउसमार्फत इन्स्टाग्राममा शोक व्यक्त गर्दै पीडित परिवार र घाइतेप्रति समवेदना जताएका छन् । अक्षय कुमारले एक्समा लेखे, ‘एयर इन्डिया दुर्घटनाले स्तब्ध र अवाक छु। यो समयमा मेरो प्रार्थना पीडितहरूसँग छ।’
भारतको गुजरातस्थित अहमदाबादबाट लन्डन उडेको उक्त जहाजमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये कम्तिमा २०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यात्रु बोकेर अहमदाबादबाट लन्डन उडान भर्ने क्रममा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको थियो ।