फिल्म । अन्तरजातीय प्रेमकथामा बन्ने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र ‘जदौ’ का निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो ।
काजी लिम्बूको लेखन रहेको यस फिल्ममा प्रमुख एक अभिनेताका रूपमा यसअघि नै मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने यस फिल्मको सह-निर्माताहरूमा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ ।
बाबुल गिरीको संगीत रहेको यो फिल्म दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा खिचिनेछ । फिल्मको प्युठानका लागि निर्माण व्यवस्थापक लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार र प्राविधिकबारे केही दिनमै विस्तृत जानकारी दिइने बताएकी छिन् ।